ललिता निवास जग्गा प्रकरण सरकारको स्टण्टबाजी मात्रै : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिता निवास जग्गा प्रकरण छानबिन हिरो बन्न सरकारले गरेको स्टण्टबाजी मात्रै भएको आरोप लगाएका छन् ।
शुक्रबार स्ववियु काउन्सिल नेपालको भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले कहिलेबाट जफत गरिएका जमिन कांग्रेसीहरुलाई फिर्ता गर्न थालियो ? सरकारले प्रष्ट पार्नुपर्ने बताएका छन् ।
उनले भने ‘ललिता निवास प्रकरणमा जग्गाको छानबिन जुन भनिएको छ त्यो आफू हिरो बन्ने स्टन्टमात्र हो । यसमा यो गठबन्धनकै मान्छे पर्ने हुन् । हाम्रो पार्टीको एउटा कसैको छोराले जमिन किनेको थियो, धनीपुर्जा हेरेर किन्यो होला, सबै प्रक्रिया पुर्यायो होला उ चाही प्रमुख दोषी भन्न खोजियो यस्ता कुराको कुनै अर्थ छैन ।
अहिलेफुर्ति गरिरहेका छन् सरकारमा गठबन्धनमा बस्नेहरु । बालुवाटार प्रकरण ललिता निवास प्रकरण भनेर यसको छानविन गरौं । जो जो दोषी छ सबैलाई कारवाही गरौं । ललिता निवासको दोषी को को हुन् ? कहिलेबाट जफत गरिएका जमिन कांग्रेसीहरुलाई फिर्ता गर्न थालियो ? सरकारले प्रष्ट पारोस् । जे कुरामा पनि नेकपा एमालेलाई दोष लगाउने चेष्टा गर्ने । ’
उनले यस्ता प्रकरणमा जो जो दोषी छन कारवाही हुनुपर्ने र गठबन्धनका नेताहरु नै यसमा पर्न सक्ने आशंका व्यक्त गरेका छन् ।
















