प्रतिनिधि सभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज शुक्रबार तीन बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक आउने आइतबार दिउसो १ बजे बस्नेगरी स्थगित भएको हो ।
सबै दलका सांसदसहित बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा संसद नियमीत गर्नेबारे ठोस सहमति नभएपछि बैठक सूचना टाँसेर स्थगित भएको हो ।
आजको समिति बैठकमा, सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदका बीचमा संसद खुलाउने विषयमा छलफल भएपनि ठोस सहमति नभएको बैठकपछि कांग्रेस सांसद रामहरी खतिवडाले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्रीको अभिव्यक्ति र संसदको अवरोध खुलाउने विषयमा छलफल भयो तर आजको बैठकमा सहमति नजुटेको हो ।
उनले भने ‘प्रतिपक्ष दलको भनाई प्रधानमन्त्रीको राजिनामा हाम्रो भनाई प्रधानमन्त्रीले राजिनामा दिइहाल्नु भयो भने प्रतिरोध छैन् । तर प्रधानमन्त्रीले संसदमा आफूले बोलेको विषयमा प्रष्ट पार्न पाउनु पर्छ भन्ने हो । ’
समितिको बैठकमा सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्न आग्रह गरेका छन् ।
उनले भने ‘सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्नुहोला । संसद अवरुद्ध हुँदा विधेयक (खासगरी मिटरब्याज सम्बन्धी) निष्क्रिय हुनु राम्रो होइन । तपाईंहरु एउटा निष्कर्षमा पुग्नैपर्छ । त्यसका लागि सहजिकरण गर्न म तयार छु । पर्सीसम्मा सहमति गर्नुहोला । आजको बैठक सूचना टाँसेर स्थगित गरौं ।’
यसअघि एमाले सचेतक महेश बर्तौलाले कुनै पनि हालतमा प्रधानमन्त्री राजिनामा नआएसम्म संसद चल्न नसक्ने बताएका थिए ।



















