आजबाट लागू हुने गरी घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले आजबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेल तथा हवाई इन्धनको मूल्य घटाएको हो ।
देशको भौगोलिक क्षेत्रलाई पहिलो, दोस्रो र तेस्रो गरि तीन वर्गमा विभाजन गरी मूल्य समायोजन गरिएको छ ।
डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर पहिलो वर्गमा ७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा ६ रुपैयाँ र तेस्रो वर्गमा ५ रुपैयाँ घटाइएको निगमले जानकारी गराएको छ ।
पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका क्षेत्रमा १ सय ६९ र तेस्रो वर्गका क्षेत्रमा १ सय ७० तोकिएको छ ।
यस्तै, पहिलो वर्गमा डिजेलको मूल्य प्रतिलिटर १ सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १ सय ४९ र तेस्रो वर्गमा १ सय ५० तोकिएको छ ।
त्यसैगरि मट्टितेलको मूल्य पनि पहिलो वर्गमा प्रतिलिटर १ सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १ सय ४९ रुपैयाँ र तेस्रो वर्गमा १ सय ५० रुपैयाँ तोकिएको छ ।
निगमले पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढी, दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायललाई राखेको छ ।
निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु १४ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक सय १५ अमेरिकी डलरले मूल्य घटाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।