आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक छलफलका लागि सदनमा पेश
काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । आइतबार संघीय संसद् भवन, नयाँ बानेश्वरमा ११ बजे बस्ने बैठकमा आर्थिक विधेयक २०८० माथि छलफल हुने र सो विधेयक माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार, अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले आजको बैठकमा आर्थिक विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव र राष्ट्र ऋण उठाउने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतम द्वारा जारी कार्यसूची अनुसार,उक्त विधेयक -राष्ट्र ऋण उठाउने विधेयक २०८०_ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ भने सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव समेत महतले पेश गर्ने उल्लेख गरिएको छ ।