मैले कुनैपनि प्रभावमा परेर काम गरेको छैन् : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले इमान्दार भएर काम गर्दा पनि आफूमाथि प्रश्न उठाइएको दाबी गरेका छन् ।
बजेट निर्माणका क्रममा विचौलिया छिराएको आरोपबारे सदनलाई मंगलबार जवाफ दिने क्रममा उनले आफूले इमान्दार भएर राष्ट्रको पक्षमा काम गरेको तर एउटा संचार माध्यमले लेख्ने साथ सत्य ठानेर आफूमाथि प्रहार भएको जिकिर गरे ।
उनले भने ‘इमान्दार भएर काम गर्न कति कठिन हुँदो रहेछ । इमान्दार हुँदा खेरी प्रश्न माथि प्रश्न उठ्ने रहेछ । एउटा पत्रिकाले पटक पटक होहोर्याउछ र त्यसैलाई हामी सत्य ठान्छौं । त्यसको यथार्थलाई बुझ्न चाहाँदैनौं । मैले पारदर्शी ढंगबाट काम गरेको छु । कुनै पनि प्रभावबाट मैले काम गरेको छैन् । यो पद र जिम्मेवारिमा रहेसम्म पूर्णरुपमा आफ्नो जिम्मेवारी बहन गर्ने छु । ’ उनले भने ।
करको दर आफैले तय गरेको हो अरुको कुनै भूमिका छैन
अर्थमन्त्री महतले, करको दर फेरबदलमा निर्णायक भूमिका आफ्नो रहेको र अरु कसैको पनि संलग्नता नरहेको प्रष्टिकरण दिएका छन् ।
आर्थिक वर्ष २०८०÷०८१ को बजेट निर्माणका बेला अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको भन्ने विषयमा प्रतिपक्षी दलहरूले उठाएका प्रश्नको उत्तर दिँदै उनले डाटा इन्ट्रि गर्ने बाहेक अन्य काममा नाम मुछिएका रामकृष्ण श्रेष्ठको संलग्ना नरहेको उनको प्रष्टिकरण छ ।
उनले भने ‘रामकृष्ण श्रेष्ठ उहाँ अनुभवि र दक्ष ईमान्दार भएको र मेरो व्यक्तिगत रुपमा केही थिएन् । यसको आवश्यकता छ भनेर नै म भन्दा अगाडीका अर्थमन्त्रीले कर्मचारी छनौट गर्नु भएको हो । यो निर्णय प्रकृयामा उहाँ हुने त कुरै भएन । त्यो निर्णय प्रकृयामा गोप्य निर्णय गर्ने ठाउँमा उहाँ कहीँ कतै हुनुहुन्न। ’
उनले निर्णय भएको विषयमा असम्बन्धित व्यक्तिलाई प्रवेश नदिइएको उनको दाबी छ ।
‘निर्णय प्रकृयामा बसेकै पदाधिकारीको उहाँहरुकै निर्देशन र उपस्थितीमा भने अनुसारको समावेश गरिएको हो । सहयोगीको आधिकारिक काम गर्नेले प्रवेश गर्ने मात्र हो । अरुलाई हेरफेर गर्न छलफलमा भाग लिन कुनै अधिकार हुँदैन् ।’
आफूले कर निर्माणका क्रममा कुनेपनि गल्ती नगरेको भन्दै उनले त्यसबारे जवाफ दिन आफू सदैब तयार रहेको उनले बताए ।
‘निर्णय प्रक्रियामा उहाँको कुनै पनि सहभागिता छैन् । डाटा इन्ट्रि गर्ने काममात्रै उहाँले गर्नुभएको हो । करको दल हेरफेर आफैले गरेको हो । त्यसलाई डिफेन्ड गर्न आफू तयार छु ।’ उनले भने ।