भारतको ओडिशामा भयानक रेल दुर्घटना, मृतकको संख्या २३३ पुग्यो
काठमाडौं । भारतको ओडिशामा भयानक रेल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २३३ पुगेको छ ।
शुक्रबार राति भएको दुर्घटनामा धेरै क्षति भएको त्यहाँका मुख्य सचिव प्रदीप जेनाले बताएका छन् । दुर्घटनामा २३३ जनाको मृत्यु हुनुका साथै ९०० भन्दा बढी यात्रु घाइते भएको जानकारी दिए । घटना ठूलै भएकाले मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यामहरुले खबर लेखेका छन् ।
रेल दुर्घटनापछि ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले आज एक दिने राजकीय शोकको घोषणा गरेका छन् ।
हावडा–बेंगलुरु एक्सप्रेसका धेरै कोचहरू (डिब्बा) शुक्रबार साँझ लगभग ७ बजे पटरीबाट खसेका थिए ।
त्यहीसमयमा १२८४१ नम्बरको शालिमार–चेन्नई सेन्ट्रल कोरोमण्डल एक्सप्रेस उक्त ट्र्याकमा आयो र पल्टिएका डिब्बासँग ठोक्कियो । जसका कारण कोरोमण्डलका धेरै डिब्बा पटरीबाट खसेर नजिकैको ट्र्याकमा गुडिरहेको मालगाडीसँग ठोक्किएका थिए । घटनास्थलबाट उद्दार गर्ने काम जारी नै रहेको छ
दुर्घटनामा कोरोमण्डल एक्सप्रेसका सात डिब्बा पल्टिएका छन् भने चारवटा डिब्बा रेल सीमाबाहिर गएका छन् । स्थानीयका अनुसार १५ वटा डिब्बा पटरीबाट खसेका छन् ।