सभापति देउवा कै कारण पार्टीमा समस्या बढ्यो : महामन्त्री थापा
काठमाडौंमा आयोजित प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनमा उनले सभापति देउवाले, आफ्नो मर्जीले बैठक बोलाउने गरेको आरोप लगाए । सभापति देउवलो विभाग गठन गर्न पनि चासो नदिएको उनको आरोप छ।
‘नेपाली कांग्रेसको बैठक राख्न दबाब छ । तर, मैले बोलाउने होइन । अहिले केही दिनअघि मात्रै एउटा विभाग गठन भएको छ । विभाग गठन गर्ने सबै जिम्मेवारी पार्टीको विधानले सभापतिलाई दिएको छ । अस्ति उहाँलाई मन लागेको थियो गर्दिनुभयो । अहिले उहाँलाई मन लागेको छैन गर्नुभएको छैन । कलम भित्र राख्नुभएको छ निकालेर उहाँले हस्ताक्षर गरे विभाग बन्छ । तर, हामी समस्या कहाँ छ, बोल्न डराउँछौं ।’
उनले सभापतिसंग बोल्न डराउने प्रवृति रहेको समेत बताए ।
अर्को प्रसँगमा महामन्त्री थापाले विस्तारै विस्तारै नेपालीको राजनीति डरलाग्दो पाराले लोकरिझ्याई बाटोमा उन्मुख भएको बताएका छन् ।
महामन्त्री थापाले जनताले चाहेको कुरा सुनाउन खोज्नेहरुको राजनीतिले परिवर्तन ल्याउछ या ल्याउदैन त्यो सबैले सोच्ने विषय भएको बताए ।
उनले भने ‘ लोकरिझ्याईको राजनीतिले के गर्ने सोच्दैन् । मैले के भन्ने होला भनेर सोच्छ ।
जे सुन्न मन लाग्छ त्यो भन्ने । त्यो कुराले परिवर्तन ल्याउछ की ल्याउदैन भन्ने होईन । सुन्नेले जे सुनिरहको छ त्यो भन्न हुन्छ कि हुँदैन भनेर सोच्दैन् । विस्तारै विस्तारै नेपालीको राजनीति डरलाग्दो पाराले लोकरिझ्याईको बाटोमा उद्धत हुन थालेको छ । यो दल त्यो दल भन्ने हुँदैन् । यो विस्तार विस्तारै हावी हुँदै जान सक्छ । यसलाई कसैले रोक्न सक्छ भने नेपालको प्रेसले मात्र रोक्न सक्छ । ’
महामन्त्री थापाले नेपाली कांग्रेसले विश्वास गुमाएको अवस्था भएको प्रष्ट पारे । उनले अहिले कांग्रेस भोट पाएको तर विश्वास गुमाएको अवस्था रहेको उल्लेख गर्दै भोटको बारेमा चिन्ता नगरी विश्वासको बारेमा चिन्ता गर्नु पर्ने बेला भएको बताए ।















