अब कसरी प्राप्त गर्न सक्छन् त गैरआवासीय नेपालीले नागरिकता?
राष्ट्रपति रामचन्द्र पौडेलले ६ महिनादेखि अलपत्र अवस्थामा रहेको नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । अघिल्लो संसदले दुई दुई पटक पारित गरेर प्रमाणीकरणका लागि तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश भएको उक्त विधेयक शीतल निवासमा थन्किएको थियो । नयाँ निर्वाचन पछि नयाँ राष्ट्रपति भएका रामचन्द्र पौडेलले यो विधेयक प्रमाणीकरण गरेका हुन् ।
विधेय प्रमाणीकरणलाई विपक्षी दलहरुले गलत भने पनि सत्तारुढ दलहरुले यसको समर्थन गरेका छन् । नागरिकता विधेयकले करिब ५ लाख नेपालीहरुलाई राहत पुग्ने अनुमान गरिएको छ । त्यतिकै मात्रामा गैर आवासीय नेपालीहरु पनि लाभान्वित हुने अपेक्षा गरिएको छ । संविधानको धारा १४ मा गैर आवासीय नेपालीलाई नागरिकता दिने कुरा लेखिएको छ । २०७२ असोज ३ गते जारी भएको संविधानमा नागरिकताको ग्यारेन्टी गरे पनि विधेयक नबन्दा अहिलेसम्म अलमल रहेको थियो ।
नागरिकता विधेयक २०६३ लाई संशोधन गरेपछि बल्ल अब गैर आवासीय नेपालीहरुले नागरिकता पाउने बाटो खुला भएको हो । संविधानको धारा १४मा गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने व्यहोरो यसरी उल्लेख गरेको छ । ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिनेछ ।’
तर, अहिलेसम्म कानुन नबन्दा यसमा अन्योल रहेको थियो भने गैर आवासीय नेपालीहरुले पनि पटक पटक यस विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो ।
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा के छ त ?