पर्यटन व्यवसायलाई सरकारले सहजीकरण गर्न आवश्यक : मन्त्री भण्डारी
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत् सिंह भण्डारीले पर्यटन व्यवसायलाई सरकारले सहजीकरण गर्नु आवश्यक भएको बताएका छन् ।
पर्यटन र संमृद्धि नामक पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले व्यवसाय भनेको आम जनताले पनि सजिलै गर्न सक्ने भन्दै त्यसको लागि सरकारले सहजीकरण गर्नुपर्ने बताए ।
उनले भने, पर्यटन व्यवसायको निम्ति सबै भन्दा चाहिने कुरा भनेको चरित्र हो । त्यसो हुनाले यो चरित्रलाई हामीले खाली अलि परिमार्जन र व्यवसायिकरण गर्नु आवश्यक छ । व्यवसाय भनेको आम जनताले गर्ने हो, सरकारले त्यसलाई सहजीकरण गर्ने मात्र हो । नेपालको हरेक मान्छेले व्यवसाय गरिरहेको हुन्छ । चियाँ बेचेको होस्, फाइभ स्टार होटल चलाएको होस्, पशुपतिमा माला बेचेको होस् वा जानकी मन्दिरमा धुप बेचेको होस् त्यो सबै व्यवसाय नै हो । ’
उनले नेपाल पर्यटककको लागि आकर्षणको केन्द्र बन्न सक्ने सम्भावना भएपनि प्राथमिकतामा पर्न नसकेको बताएका छन् ।
मन्त्री भण्डारीले पर्यटनको कुरा गर्दा कुनै गोरो छालालाई पर्यटक मान्ने तर स्थानीय पर्यटकलाई भने वास्ता नगर्ने प्रवृत्तिले पनि देशको पर्यटन क्षेत्र विकास नभएको पनि बताए ।