हैट! टेकनाथजी, कहाँ फसेको?
हरि अधिकारी/काठमाडौ
नक्कली भुटानी शरणार्थी काण्डमा भुटानका विद्रोही नेता टेकनाथ रिजाल पनि पक्राउ परेको समाचार सुनेर म स्तब्ध भएको छु । प्रहरी सूत्रले जनाए अनुसार नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँने राज्यविरुद्धको आपराधिक प्रपञ्चमा लागेको गिरोहका एक व्यक्तिसँग रिजालले ७ लाख रूपैयाँ बुझेको प्रमाण भेटिएपछि उनलाई गिरफ्तार गरिएको हो ।
थिम्पु दरबारको कोपभाजन भई यातना पाउँने नेपाली मूलका भुटानीहरूमध्ये टेकनाथ रिजाललाई सबैभन्दा यशस्वी र प्रतिष्ठित मान्न सकिन्छ । राजाको सल्लाहकार परिषदको सदस्य छँदै तत्कालीन ड्रुक रेजिमले नेपाली मूलका नागरिकहरूमाथि लादेको विभेदकारी भाषिक, शैक्षिक र पोशाकसम्बन्धी नीति-नियमबिरुद्ध आवाज उठाएका कारण रिजालले देश छोडेर नेपालमा शरण लिनु परेको थियो । आफ्नो पुर्खाको देश नेपालमा पनि उनले शान्तिपूर्वक बस्न पाएनन् ।
झापा बिर्तामोडमा बसिरहेका उनलाई मरीचमान सिंहको नेतृत्वको तत्कालीन पञ्च सरकारले त्यहाँबाट अपहरण गरि काठमाडौ ल्यायो र हवाइजहाजमा चढाएर भुटान पठाइदियो । नेपाल सरकारले शरणको मरण गरेर निर्दयी भुटानी राजाको जिम्मा लगाइएका टेकनाथ रिजाललाई थिम्पु दरबारले महिनौंसम्म भीषण शारीरिक र मानसिक यातना दिएपछि जन्मकैदको सजाय तोक्यो । त्यस पटक उनले १० वर्ष नारकीय बन्दी जीवन भोग्नु पर्यो ।
रिजाल कारामुक्त भएर नेपाल आउँदा भुटानबाट लखेटिएका लगभग डेढलाख भुटानी-नेपालीहरू नेपाल आइसकेका र युएनको सहयोगमा पूर्वी सीमान्त जिल्ला झापामा खडा गरिएका ८ वटा शरणार्थी शिविरहरूमा बडो कष्टकर जीवन बिताइरहेका थिए । रिजाल लगायत अन्य भुटानी नेताहरूकासाथै नेपाल सरकारले पनि ती शरणार्थीहरूलाई भुटान फर्काउँने प्रयास निरन्तर जारी राखे तर भारत सरकारले पछाडिबाट धाप दिइएका ड्रुक राजा टसका मस नभएका कारण भुटानी शरणार्थीहरू पितृभूमि फर्किन पाएनन् । त्यस सन्दर्भमा टेकनाथ रिजाल भुटानी शरणार्थीहरूका सबैभन्दा प्रभावशाली आवाज भने बनेका थिए ।
शरणार्थीहरूलाई भुटान फर्काउँन सम्भव नभएपछि युएन, संरा अमेरिका, युरोपियन युनियन र नेपाल सरकारको संयुक्त प्रयत्नमा शरणार्थीमध्ये इच्छुक जतिलाई तेस्रो मुलुकमा लगेर पुनर्वास गराउँने स्किम अगाडि सारियो जुन लगभग सफल साबित भयो । अहिलेको घडीमा झापाका लगभग उजाड भएका शरणार्थी शिविरहरूमा जम्माजम्मी ६ हजार ५ सय जना मात्र छन् भने तेस्रो मुलुकमा १ लाख २० हजार जति शरणार्थीहरूको पुनर्वास भइसकेको छ । अमेरिकामा मात्रै १ लाखभन्दा बढी भुटानीहरूलाई पुनर्स्थापित गराइएको छ । अमेरिका बाहेक भुटानीहरूलाई स्वागत गर्ने अन्य देशहरूमा क्यानडा, युके, अस्ट्रेलिया, डेनमार्क, द निदर्ल्याण्ड्स, बेल्जियम, नर्वे र स्विडेन छन् ।
टेकनाथ रिजालसँग पछिल्लो पटक भेट हुँदा उनले भनेका थिए- हरिजी, म नेपालमा बाँकीरहेका र हातमा कुनै पनि देशको नागरिकता नभएका तिनै ६ हजार ५ सय भुटानी बन्धु-बान्धवहरूलाई पहिचान सहितको सम्मानजनक जीवन प्रदान गर्ने अभियानमा छु । अहिले नक्कली शरणार्थी काण्डमा उनको गिरफ्तारी भएपछि म खङ्ग्रङ्ग भएको छु । मलाई भन्न मन लागेको छ: हैट! टेकनाथजी कहाँ फसेको?
टेकनाथ रिजालको बहुचर्चित संस्मरणात्मक वृत्तान्तको पुस्तक निर्वासनको मैले गरेको समीक्षा मन परेर उनी मलाई भेट्न आएपछि हामी दुईका बीच घनिष्ठता कायम भएको थियो । मैले यसै वर्ष प्रकाशनमा ल्याउँन खोजेको अन्तर्वार्ता संग्रह “सम्वाद सञ्चयिनी” का लागि उनीसँग पनि सघन वार्तालाप गरेको छु । उनको गिरफ्तारीपछि उनलाई फिचर गर्ने कि नगर्ने भन्ने दोधारमा परेको छु म । त्यसैले पनि भन्न मन लागेको छ: हैट! टेकनाथजी कहाँ फसेको?