नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा र बादलका छाेरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभासद् आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण ढाकछोपमा संलग्न रहेको आरोपमा आङटावा शेर्पा बिरुद्ध पक्राउ पुर्जि जारी भएको हो ।
प्रहरी उच्च अधिकारीका अनुसार सो घटनामा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणलगायतको नाम नभन्नका लागि अनुरोध गर्न प्रहरी कार्यालय पुगेका शेर्पा माथी थप अनुसन्धानका लागि पक्राउ पुर्जि जारी भएको हो । उनलाई पक्राउ गर्नका लागि शुक्रवार नै जिल्ला अदालत, काठमाडौंवाट अनुमति लिईएको छ ।
तर, शेर्पा सो घटना सार्वजनिक भए पछि मोबाईल अफ गरी बेपत्ता भएका छन् । उनको प्रहरीले शुक्रवार देखी नै खोजी गरे पनि अझैसम्म फेला पार्न सकेको छैन ।
सो प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दुलाललाई भेटघाट गरी खाँणकाे नाम नलिन उनले अनुरोध गरेको यसअघि सार्वजनिक भएको थियो ।
यस्तै, पूर्व गृहमन्त्री एवम् एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
रामबहादुर थापा गृहमन्त्री हुँदा उहाँका सल्लाहकार रहेका इन्द्रजित राई पक्राउ परेपछि अनुसन्धान गर्दा प्रतीक थापा पनि संलग्न रहेको प्रमाणहरू भेटिएपछि थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । प्रतीकले यसअघि विज्ञप्ति निकालेर आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका थिए ।
नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व गृह सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई लगायत १२ जना पक्राउ परिसकेका छन् । पक्राउ पुर्जी जारी भएका तत्कालीन उपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा निरज राई फरार रहेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन सुरु भएपछि जनस्तर र राजनीतिक दलकै तर्फबाट निष्पक्ष छानबिन र दोषीमाथी कारबाहीको माग गर्दै सरकारलाई दबाब बढिरहेको छ ।