नेताहरुको भेट बाहिर एउटा कुरा भित्र अर्कै कुरा
काठमाडौं । पछिल्लो समय नेपाली राजनीति नक्कली भुटानी शरणार्थी प्रकरणका कारण निकै तरंगित बनेको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न भएको अभियोगमा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जना प्रहरी हिरासतमा छन् ।
प्रक्राउ पुर्जि जारी भएपछि नेकपा एमालेका सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार छन् भने नेपाली कांग्रेसका पूर्व सांसद् आङ टेवा शेर्पा विरुद्ध आज आइतबार पक्राउ पुर्जि जारी गरेर खोजि गरिरहेको छ । उनले यो प्रकरणका अर्का योजनाकारण सानु भण्डारीलाई भेटेको र नक्कली शरणार्थी बनाउने प्रकरणमा मान्छे खोजेर रकम अशुली गरेको बताइएको छ ।
यो बीचमा राजनीतिक दलका नेताहरु आरोपित हुने क्रम जारी रहेकाले अहिले संसदका तीन ठूला दलका शीर्ष नेताहरुकाबीचमा नियमित छलफल भइरहेको छ । पछिल्ला दिनमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पटक पटक भेटवार्ता भएको छ ।
उनीहरुले भेटवार्तापछि हरेक पटक समसामयिक राजनीतिका विषयमा छलफल भएको भनेर सञ्चारकर्मीलाई भने पनि उनीहरुका बीचमा अहिले नक्कली शरणार्थी प्रकरणमा मुछिएका आफ्ना नजिककालाई जोगाउने विषयमा बढी विचार विमर्श भएको बुझिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज पनि प्रमुख तीन दलका नेताहरुकाबीचमा छलफल भएको छ । बाहिर संक्रमणकालीन न्यायसंग सम्बन्धीत कानूनलाई छिटो टुंगोमा पु¥याउन संसदीय उपसमिति गठन गर्ने बिषयमा प्रमुख तीनदलबीच छलफल भएको बताइएको छ ।
तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरुबिच सत्य निरूपण तथा मेलमिलाप सम्बन्धि विधेयकलाई छिटो टुंगोमा पुर्याउन संसदीय उपसमिति गठन गर्ने बिषयमा छलफल भएको हो ।
बैठकमा संसदीय समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । त्यस्तै सहमतिका साथ नै संसदलाई प्रभावकारी रुपमा अघि बढाउने बिषयमा छलफल केन्द्रीत भएको थियो ।
छलफलमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, एमाले संसदीय दलका नेता केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका नेता सुवास नेम्वाङ लगाएत सहभागी थिए ।