एक खुला प्रश्न-पत्र स्वर्णिम वाग्लेजीलाई
स्वर्णिमजी,
जय नेपाल
धेरै बर्ष पहिले कुनै टेलिभिजन सिरियलमा देखेको थिएँ । एक जना कुक पढेकी बुहारी घर भित्र्याए छन् I उनले सबैलाई आज “आज म पकाउँ छु” भनिन् । नव दुलाहाले घमण्ड गर्यो आफ्नी धर्मपत्नी ‘यस्तो’ ल्याएँ भनेर । सासु ससुरा गमक्क फूले । पाहुनाहरु पनि मीठो खान पाईने भो भनेर धपक्क खुशी भए I
नवदुलही मसक्क गर्दै लचक लचक हिंड्दै कुक बुक लिएर आईन् । पाहुना, परिवार, पति सबै छतमा तरकारी, भात कुरेर बसे । एक घण्टा पछि खान पाक्यो, पाकेन हेर्न पति जाँदा मासु चुल्होमा चिसै, भात चौलेनीसगैं, सव्जी काँचै थियो । किन भनेर किताब हेरिन् नवदुलहीले, ‘कुक बुकमा चुलो स्टार्ट गर्नु पर्छ’ लेखिएको रहेनछ । उनले चुलो नै बालिनाछिन् ।
अर्को प्रसंङ्ग, २३/२४ बर्ष अघिको कुरा हो, झापा संसरेका एक मित्र ३/४ बर्ष पछि काठमाडौँबाट दशैं मान्न झापा संसरे आए । दशैंको बेला खेतभरि धान लहलह फलेका थिए । धानलाई देखाउँदै भने,”गहूँ हो?” पन्ध्र बर्ष त्यहीं जन्मेर, हुर्केर, बढेर र पढेर उच्च शिक्षाको लागि काठमाडौँ गएको मात्र हैन २/३ बर्ष त हलो जोतेको, धानको व्याड राखेको, धान काटेको र कुन्यु बनाएको मेरो मित्रले ३/४ बर्ष काठमाडौँ बस्दा नै धान नचिनेको देखेर त्यसबेला धान चुटे झैं चुट्न मन लाग्यो ।
स्वर्णिम वाग्लेजी तपाईं कुनमा पर्नु हुन्छ, मलाई थाहा भएन । बेलायत, अष्ट्रेलिया, अमेरिकामा अर्थशास्त्र पढेर आएर कांग्रेसले सदस्य र उपाध्यक्ष बनाई, झन्डै एक दशक योजना आयोगमा बसेर देशको अर्थतन्त्र उकास्ने, गाउँले किसानको खेतीमा उन्नत प्रविधि भित्र्याएर उनीहरुको जीवनस्तर उकास्ने के गर्नु भो? तनहुँका जनताका आँतमा पानी र खेतमा पानी पुर्याउन के योजना बनाउनु भो? कुन योजना पुर्याउनु भो? कुन बाटो पार्नु भो बजेटमा, कुन सडक चिल्लो पार्नु भो? त्यत्रो पढेको मान्छे तपाईं, आदिकविको गाऊँ र ठाऊँलाई सम्मान गर्नु भो? योगदान गर्नु भो ?
गोविन्द भट्टराई र तपाईंबीच तुलना गर्दिनँ तर गोविन्द भट्टराई सच्चा कांग्रेसीको प्यारो थियो फगत अँध्यारोमा परेको थियो । बत्तीमुनि अँध्यारो! तपाईं लण्डनमा पढ्दा उसले संसदीय व्यवस्थाको लागि टाउकोमा प्रहरीको लठ्ठी खाई रहेको थियो । तपाईंले अष्ट्रेलिया र अमेरिकामा पढ्दा र नोकरी गर्दा गणतन्त्र र लोकतन्त्रका लागि गोविन्द भट्टराईले शीर र शरीरबाट रगत बगाई रहेको थियो ।
तपाईंले सिंहदरवारमा बसेर अमेरिका, बेलायत, अष्ट्रेलिया जस्ता देशको अर्थनीति नेपालको लागि सेलेक्ट, पेस्ट र कपि गरी रहंदा तनहुँका जनताका लागि खानेपानीको मुहान खोज्दै थियो । तनहुँबासी अन्धकार मुहारलाई चहकिलो अनुहारमा परिणत गर्न गोविन्द भट्टराई जिल्लाको सदरमुकाम र केन्द्रको मुकाम ओहोरदोहोर गर्दै थियो ।
तपाईंले पिएचडी गर्नु भो बधाई छ । कांग्रेसमा हजारौं छन् पिएचडी गर्ने । त्यो सर्टिफिकेटको के मान्यता सही मानेमा सदुपयोग हुन्न भने । तपाईं, कुनै एक गरिब किसानको छोराको छात्रवृत्ति पाएर जानु भो त्यसमा सरकारको लगानी छ, कांग्रेसको योगदान छ र जनताले तिरेको तिरो अंश छ त्यसको के प्रतिफल दिनु भो? धन्यवाद किन दिने? उत्तर छ? कांग्रेसले ठाऊँ दिएन भनेर घन्टीमा लाग्ने तपाईं केही घण्टामा नै घण्टा बजाउँदै हलो नचिन्ने अर्थशास्त्री तपाईं हलोमा जानु हुन्न भन्ने के भर? “हलोले पनि हलो भनेन भने कुम्लो बोकेर परदेश चलो” स्वर्णिम भविष्यको लागि भनेर त्रिवि विमानस्थल लाग्नु हुन्न भन्ने अनुमान गर्न सकिन्न र स्वर्णिमजी?
पढ्न त गोविन्द भट्टराईले पनि पढे अक्सफोर्ड, हार्वार्ड खोजेनन्, आफ्नै त्रिवि रोजे । देशकै बिश्वबिद्यालय, देशकै माटो सुहाउँदो, जनताको नातो जोडिने शिक्षा अध्ययन गरे । तपाईंले बर्गर खाँदै विदेशमा पढ्दै गर्दा, गोविन्द ढीड़ो खाँदै गामवेंशी पढ्दै थिए । पिएचडी उनी पनि गर्दैछन्, तपाईं जस्तो पिज्जा र पेप्सी खाएर हैन आफैंले बनाएको पँधेरोको पानीसगं भुटेको मकै खाँदै पिएचडी गर्दैछन् ।
तपाईं जस्तो पिएचडी गरेका नेपालमा हजारौं युवाहरु छन्, कांग्रेसमा पनि सयौं छन्, घन्टी बाहेक अन्य दलमा पनि कयौं छन्, कति रोजगार छन् कति बेरोज़गार तर तपाईं जस्तो सर्टिफिकेट बेच्दै र पिएचडी देखाउँदै ‘वल्लो गाऊँको नरे पल्लो घरमा सरे’ जस्तो गरेका छैनन् ।
कम्तिमा गोविन्द भट्टराई तपाईं जस्तो हैन । सम्माननीय रामचन्द्र पौडेल, गोविन्दराज जोशी, रघुनाथ पौडेल, रामचन्द्र पोख्रेल जस्ता पुराना र परिपक्व नेताहरुले किनारा र अँध्यारामा परे पारे गोविन्द भट्टराईलाई, तर तपाईं जस्तो दाई भाउजुलाई आरोप लगाएर बाटो तताउनु भएन बरू पार्टीमै रहेर त्यहीं लडी रहनु भो ।
बरू तपाईंलाई कांग्रेसले पढायो, पढेर फर्किना साथ देशको योजना बनाउने जिम्मेवारी दिनु भयो । कांग्रेसमा कयौं तपाईं जस्तो पढेको र परेको अर्थशास्त्रीहरु थिए तर तपाईंलाई अवसर दियो र अरू अवसर पाउन केही समय पनि कुर्न नसकी अवसरवादी बनी रास्वपा लाग्नु भयो । त्यहाँ पनि तपाईं जस्तै फिरन्ते नेता हुनुहुन्छ र खहरे दल कुनबेला दलमा बादल लाग्छ अनि दलबदल गर्दै राप्रपा अनि त्यहाँबाट पनि चिचीपापा नपाएपछि पाखा लाग्नु हुनेछ ।
झुटको खेती गर्न तपाईंलाई कसले सक्छ? मतदातालाई कतिसम्म झुट बोल्नु हुन्छ भनेर हेर्न परे गोविन्द भट्टराईलाई सभामा लैजाने कुरो भएको छ, छिट्टै राष्ट्रिय सभाको सदस्य भन्दै हुनुहुन्छ, हामी बनाउंदै छौं भनेर झुटको भ्रम फैलाउंदै हुनुहुन्छ I पहिले त तपाईं को हो उनलाई सदस्य बनाउने? दोश्रो एक दलको तपाईं उम्मेद्वारले अर्को दलको उम्मेदवारलाई यसरी भन्न कति सुहाउँछ?
विदेशमा पढ्नु भो । शेर बहादुर देउवाले योजना आयोगको सदस्य बनाउनु भो, योग्यता क्षमता देखेर र उपाध्यक्ष पनि I तपाईं भन्दा अरू धेरै नेपालमा पढेर योजना र अर्थ जानेका, वुझेका र अनुभव भएका थिए तर तपाईंलाई रोज्नु भो I अहिले सांसदको टिकेट दिएन भनेर उत्ताउलो बन्ने?
अभद्र र अशिष्ट भाषामा संसदको ठूलो दलको नेता र सबैभन्दा पुरानो पार्टीको सभापतिलाई अपमान र असत्य कुरा गर्ने? तपाईंलाई यस्तो बोल्ने तपाईंको जिब्रोको हक त्यही शेर बहादुर देउवाले आफ्नो बोल्ने जिब्रो गुमाएर दिएको हो I तर तपाईंलाई भ्रामक र अतिरन्जित कुरा गर्ने स्वतन्त्रताका लागि देउवा लडेका थिएनन्, जुन यहाँले गर्नु भो I
मेरो तीन पुस्ता कांग्रेस थियो भनेर, हजुरबुवाले सक्कली घिउ खानु हुन्थ्यो भनेर मलाई डाल्डा चाहियो भन्दै उफ्रिन पाईन्छ? वनस्पति घ्यु खान कर्म गर्नु पर्छ I प्रकाशमानले चाक्सीबारीको चाकु खाएको मात्र हैन चाकु बनाउन धेरै कष्ट र मेहेनत गरेका थिए I पढेर चस्मा लाएर मात्रै हुँदैन परेर कपाल पनि फुल्नु पर्छ I
कांग्रेसको लागि चप्पलको लोती र कुर्ताको कलर फाटेको छ तपाईको? गाऊँको कथा र गाऊँलेको व्यथा सुन्नु, बुझ्नु, र सुल्झाउने गरेको दिन छ? डलर, पाउण्डले चलाएको शहरी र राजधानी वहसले तनहुँको चुँदी र रम्घाको इतिहास र विकासलाई समेट्न सक्नु हुन्छ? कांग्रेस ओरालो लागेको तपाई जस्ताले गर्दा हो I
काठमाडौँमा ऋषि धमलालाई अन्तर्वार्ता दिन्छन् पार्टीको बारेमा र होटल हिमालयमा सयौं डलर र कयौं रुपैयाँ लिएर गरिवी र सम्वृद्धि, अर्थ व्यवस्था र राज्यव्यवस्था कार्यपत्र प्रस्तुत गर्छन् माईक समातेर I र कांग्रेसले तपाईं जस्तालाई कांग्रेसको घोषणा पत्र, विधान, चुनावी नारा बनाउन लगाउँछ अनि हुन्छ गरिवी निवारण र आर्थिक पुनर्जागरण !
तपाईंको पुर्खाले कांग्रेसलाई गरेको योगदान खोज्नु भो I त्यसो हो भने ज्ञानेन्द्र शाहलाई राजगद्धी फर्काए हुन्छ किनकि पृथ्वी नारायण शाहले राष्ट्र निर्माणका लागि योगदान गरेका थिए I विरासत सहित हैसियत पनि बन्नु पर्छ र बनाउनु पर्छ त्यस्तो काविलयत राख्नु भो?
शेर बहादुर देउवालाई नातागोता र आफू बाहेक अरू देख्दैनन् भन्ने आरोप तपाईंलाई नै सोध्न मन लाग्यो, तपाईंको कुन साईनो थियो उहाँसँग र योजना आयोगको सदस्यदेखि उपाध्यक्षसम्म बन्नु भो I
देशको सर्वोच्च कार्यकारी पदमा एउटा हातको औंलाको संख्या जत्तिकै पुग्नु भएका देउवा, बन्छु भने कसैले रोक्ने थिएनन् मात्रै हैन सबैले अनुरोध पनि गरेका थिए जीवनको उत्तरार्धमा देशको सर्वोच्च सम्मानित पदमा पुग्नु हुन्थ्यो तर आफ्ना सदा प्रतिष्पर्धी र समकालीन नेता रामचन्द्र पौडेललाई बनाउनु भो, कहाँ नाता कहाँ आफू खोज्नु भो?
एक कार्यक्रममा ‘टिकट नपाए पनि कांग्रेस त्यागेर चुनाव लड्नु राजनीतिक रूपमा परिपक्वता हुँदैन, अब म पाँच वर्षसम्म कांग्रेसी युवामाझ सक्रिय हुन्छु’ भन्नुभएको थियो, आफ्नै भनाइ सात महिना पनि टिक्न सक्नु भएन ।
तपाईं बन्न खोज्नु भएको नेता हो की नौटंकीका अभिनेता हो? तपाईंको यो असन्तुष्टि हो कि अवसरवाद? पार्टीले योजना आयोगमा लग्यो, घोषणा पत्र लेख्ने जिम्मेवारी दियो, भर्खर पार्टीमा क्रियाशील भएको क्रियाशील सदस्य मात्र तपाईं त्यसैले तपाईं भन्दा पुरानो मान्छेलाई टिकट दियो पार्टीले, तथापि कांग्रेसका महामन्त्री गगन थापा त आफ्नो निर्वाचन क्षेत्र तपाईंलाई दिएर सर्लाही जानसम्म तयार हुनुहुन्थ्यो, त्यसलाई तपाईंले नजरअन्दाज गरेजस्तो भएन र ?
तपाईंलाई कांग्रेसले माया र सद्भाव नदेखाएको हो ? काँग्रेसमा सम्भावना, अवसर छैन, कांग्रेसको भविष्य छैन भन्नु भयो, गोविन्द भट्टराईलाई नै हेर्नुस, लामो समय ओझेलमा परे तर अवसर पाए ।
कांग्रेसको जन्म तपाईंको जन्म उमेरभन्दा दुई गुणा बढी छ, कांग्रेस अझै छ, कसरी भविष्य छैन कांग्रेसको । कांग्रेस रानातन्त्र, राजतन्त्र, एकतन्त्रमा पनि सकिएन, विपी, गणेशमान, सुवर्ण शमसेर, गिरिजाबाबु, किसुनजीको अभावमा पनि बाँची रहेको छ I तपाईं नहुँदा पनि कांग्रेस बाँच्छ म नरहँदा पनि रहन्छ कांग्रेस, स्वर्णिमजी ।
तपाईंले रोजेको बाटोले तपाईंको भविष्य स्वर्णिम हुने बाटोमा खाल्टो देखिंदै छ तर कांग्रेसको बाटो घुमाउरो र अफ्ठ्यारो होला तर उसको र उसकाहरुको भविष्यको पाटो स्वर्णिम छ ।
तपाईंको निजि जीवन र ग्रीन कार्ड र परिवारको नागरिकता बारेमा पनि कुरा उठेका छन्, यहाँका सभापतिको झैं । आर्थिक मामलामा समेत संचार माध्यम र सामाजिक संजालमा प्रश्नहरू गरिएका छन् । यी र यस्ता प्रश्नहरूका जवाफ तनहुँबासीले निर्वाचन अघि नै खोजेका छन् । निरुत्तर नपार्नु होला । स्पष्ट गर्नु होला । आगे यहाँको मर्जी । शुभ-कामना
भवदीय
राम कुमार सुबेदी, टेक्सास, अमेरिका