इन्डोनेसियाको सरकारी तेल भण्डारण डिपोमा भीषण आगलागी
जकार्ता / इन्डोनेसियाको राजधानी जकार्तामा रहेको एक तेल भण्डारण डिपोमा शुक्रबार राति भएको भीषण आगलागीमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ । साथै यस घटनामा दर्जनौं मानिस घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार आगो नियन्त्रणमा आएको छ । तेल भण्डारण डिपो सरकारी कम्पनीको हो।
रिपोर्टका अनुसार उत्तरी जकार्ताको राज्य ऊर्जा कम्पनी पेर्टामिनाको तेल डिपोमा ठूलो आगो लागेपछि वरपरका मानिसहरू आतंकित भएर आफ्नो ज्यान बचाउन भागेका थिए। प्रशासनले नजिकैको आवासीय क्षेत्र खाली गराएको थियो । उत्तरी जकार्ताको दमकल विभागले आगलागीमा दुई बालबालिकासहित १७ जनाको मृत्यु भएको र कम्तीमा ५० जना घाइते भएको बताएको छ ।
आगलागीमा परी कैयौं व्यक्ति गम्भीर घाइते भएको दमकल विभागका प्रमुखले सञ्चारकर्मीलाई बताए । स्थानीय समय अनुसार राति ८ बजे आगो सुरु भएको थियो । अहिले आगलागीको कारण खुल्न सकेको छैन ।
इन्डोनेसियाका सेना प्रमुख डुडुङ अब्दुराचमानले आगो लागेको केही घण्टापछि निभाइएको सञ्चारमाध्यमलाई बताए । आगो निभाइएको उनले बताए । सेना प्रमुखले कारणबारे अनुसन्धान भइरहेको बताए ।
सोही क्रममा परेटामिना कम्पनीले आगलागी नियन्त्रण तथा आसपासका मजदुर तथा बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारीले यस्तो घटना दोहोरिन नदिन आन्तरिक समीक्षा गर्ने बताए ।