राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि कार्यालय स्थापना
काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचनका आवश्यक काम संचालन गर्न निर्वाचन आयोगले सोमबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले एक कार्यक्रमबीच कार्यालयको उद्घाटन गरेका हुन् । सो अवसरमा निर्वाचनका लागि आयोगका तर्फबाट मतदाता नामावलीको अन्तिम सूची कार्यालयलाई उपलब्ध हुने र कार्यालयले स्वीकृत निर्वाचन कार्यक्रमअनुसार यही फागुन १० गते मतदाता नामावली प्रकाशन गर्ने बताए ।
प्रमुख आयुक्त थपलियाले राष्ट्रपतिको निर्वाचनको मतदानका दिन साँझ ७ गतेभित्र मतपरिणाम प्रकाशन गर्ने गरी तयारी भएको जानकारी दिदैँ कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा भोलिपल्ट फागुन २६ गते नै निर्वाचन गराइने बताए ।
मतदान तथा मत गणनाको सम्पुर्ण काम अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै हुनेछ । सो कार्यक्रममा आयोगका सचिव गोकर्णमणि दुवाडीले, आयोगबाट स्वीकृत कार्यक्रमअनुसार राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका कार्यक्रम सञ्चालन गर्न कार्यालय स्थापना भएको प्रष्ट्याए ।
राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको जिम्मेवारी पाएका उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौड्यालले मुलुकको सर्वाेच्च पदको निर्वाचन स्वच्छ र स्वतन्त्रतरूपमा गराउन दिइएको जिम्मेवारीलाई कामबाट पुष्टि गर्ने प्रतिबद्धता व्यक्त गरे।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यतालिका कस्तो छ ?
निर्वाचन आयोगले, राष्ट्रपतिको निर्वाचनका लागि फागुन १० गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गर्ने गरि निर्वाचन कार्यतालिका तयार गरेको छ । साथै फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम राखिएको छ।
त्यस्तै उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेलगायतका कार्यक्रम तय गरिएको छ । वर्तमान राष्ट्रपतिको पदावधि २०७९ साल फागुन २८ गते र उपराष्ट्रपतिको पदावधि आगामी चैत ३ गते समाप्त हुँदैछ ।
संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक फरक लिङ्ग र समुदायबाट प्रतिनिधित्व हुनुपर्नेछ । राष्ट्रपतिको निर्वाचनको मतदानका दिन साँझ ७ गतेभित्र मतपरिणाम प्रकाशन गर्ने गरी तयारी भएको जानकारी दिदैँ कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा भोलिपल्ट फागुन २६ गते नै निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुने गरी निर्वाचन आयोगले गत माघ १६ गते मिति तय गरेको थियो ।
कसले गर्छन मतदान ?
राष्ट्रपति तथा उपराष्ट्रपति पद चयनका लागि सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहनेछन् । सङ्घीय संसद्का तीन सय ३४ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८४ मतदाताले मत खसाल्ने छन् ।
सङ्घीय संसद्का प्रति सदस्यको ४८ मतभारका दरले २६ हजार ४०० र प्रदेशसभा सदस्यको प्रति सदस्य ७९ मतभारका दरले २६ हजार तीन सय ८६ गरी कूल ५२ हजार सात सय ८६ मतभार कायम हुने प्रावधान छ । प्रतिनिधिसभामा हाल दुई सदस्य निलम्बित र एक सदस्य पद रिक्त छ ।