दीपेन्द्र र कुशल नायक बनेको खेलमा नेपालले स्कटल्याण्डलाई तीन विकेटले हरायो
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले स्कटल्याण्डलाई हराएको छ ।
क्रिर्तिपुर क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा घरेलु टोली नेपालले लिग टू को विजेता बनिसकेके स्कटल्याण्डलाई ३ विकेटले हराएको हो ।स्कटल्याण्डले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
७७ रन जोड्दा ५ विकेट गुमाईसकेको नेपालको जितमा दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले अर्धशतकीय योगदान गरे ।
नेपालका ओपनर कुशल भुर्तेलले ४ चौका सहित ८ बलमा १६ रन बनाए । अर्का ओपनर आसिफ शेखले १४ बलमा ९ रनमा पेभिलिएन फर्किदाँ ज्ञानेन्द्र मल्ल ३ बलमा ४ रन बनाएर आउट भएभने कप्तान रोहित पौडेल पनि १० बलमा ६ रन मै समेटिए ।
कप्तान रोहित आउट भएसँगै मैदान आएका कुशल मल्लले एकदिवसीय अन्तराष्ट्रियमा व्यक्तिगत सर्वाधिक ८१ रन बनाए । उनले ६७ बलमा ९ चौका र ४ छक्का प्रहार गरे ।
सन्दीप जोराले ५ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले १ सय १६ बलमा अविजित ८५ रन बनाए । दीपेन्द्रको एकदिवसीय अन्तराष्ट्रियमा यो दोस्रो अर्धशतक हो । उनले एक शतक समेत प्रहार गरेका छन् ।
छैटौं विकेटका लागि कुशलले दीपेन्द्रसँग मिलेर १ सय रनको साझेदारी गरेका थिए ।
दीपेन्द्र र सोमपालले आठौं विकेटका लागि अविजित ५५ रनको साझेदारी गरेका थिए । सोमपाल २४ रनमा अविजित रहे ।
स्कटल्याण्डका लागि क्रिस सोल र मार्क वाटले समान ३÷३ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनाएको थियो । स्कटल्याण्डका लागि माईकल लिस्कले ८५ बलमा १ सय ७ रनको शतकीय इनिङ खेले । उनले ७९ बलमा ३ चौका र ९ छक्काको सहयोगमा १ सय रन बनाएका थिए ।एकदिवसीय अन्तराष्ट्रियमा उनको यो पहिलो शतक हो ।
स्कटल्याण्डसँगको पाँचौं एकदिवसीयमा नेपालको यो दोस्रो जित हो ।
सिरिजमा नेपाल २६ खेलमा २२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ ।
सिरिज अन्तर्गत नेपालले भोलि शनिबार नामिबियासँग खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ ।