टर्की÷सिरिया भूकम्प मर्नेको संख्या ३६ हजार नाघ्यो, निर्माणमा संलग्न ठेकेदार धमाधम पक्राउ
काठमाडौं । टर्की÷सिरिया भूकम्पमा परि ज्यान गुमाउनेको संख्या ३६ हजार २ सय १७ पुगेको छ । ज्यान गुमाउनेमा सबैभन्दा धेरै टर्कीका नागरिक रहेका छन् ।
अन्तराष्ट्रिय मिडियाका अनुसार मंगलबार बिहानसम्म टर्कीमा मात्रै ३१ हजार ६ सय ४३ को ज्यान गएको छ । त्यस्तै, सिरियामा ४ हजार ५ सय ७४ ले ज्यान गुमाएका छन् । भूकम्पमा घरबार बिहिन हुनेको संख्या एक लाख नाघेको छ । पीडित सडक तथा खुला चौरमा बस्न बाध्य भएका छन् । गत साता टर्की र सिरियाको सिमा क्षेत्र हुँदै ७ दशमलव ८ म्याग्नेच्यूड रेक्टरस्केलको भूकम्प गएको थियो ।
उद्धारका लागि संयुक्त राष्ट्र संघ लगायत बिभिन्न मुलुकका उद्धारकर्मी क्षतिग्रस्ता स्थानमा खटिएका छन् । बिद्रोही समुहका कारण रिरियाका क्षतिग्रस्त क्षेत्रमा उद्धारकर्मी अझै जान सकेका छैनन् ।
दर्जनौ निर्माण व्यवसायी पक्राउ
भूकम्पमा ठुला–ठुला अपार्टमेन्ट नै ध्वस्त बनेपछि टर्की सरकारले निर्माणमा संलग्न व्यवसायीलाई धमाधम पक्राउ गरेको छ । टर्कीको सरकारी समाचार एजेन्सि अनाडोलुका अनुसार टर्की सकाकारले सोमवार साँझसम्म एक सय ६३ ठेकेदारलाई अनुसन्धान गरिरहेको छ । सर्वसाधरणको चौतर्फी दवावपछि टर्की सरकारले ठेकेदारलाई विरुद्ध अनुसन्धान सुरु गरेको हो ।
समाचार एजेन्सि अनाडोलुका अनुसार आठ ठेकेदारलाई प्रहरीले पक्राउ गरिसकेको छ । ४८ जनालाई हिरासतमा राखिएको छ । अनुसन्धान भइरहेका अन्य ठेकेदारको सन्दर्भमा भने टर्की सरकारले कुनै जानकारी दिएको छैन । क्षतिग्रस्त क्षेत्र डियारबकिरको भ्रमणपछि टर्कीको कानूनमन्त्री बेकिर बोज्डगले सरकारी वकिल कार्यालयमार्फत न्यायिक छानविन हुने बताए ।
कानूनमन्त्री बोज्डगका अनुसार भूकम्पमा क्षतिग्रस्त बनेका केही घर ३० बर्ष पुराना छन् । केही २० बर्ष त केही भर्खर मात्रै निर्माण भएका छन् । मन्त्री बोज्डले भने,‘कुन घर कहिले बनेको भनेर हाम्रो नगरपालिकासँग सुचना छन् । यी तथ्यको जाँच हुनेछ । यसको मुल्यांकन हुनेछन् । हाम्रा सरकारी वकिलले यसको छानविन गर्नेछन् । निर्माणमा संलग्न ठेकेदारको घटना के–कति संलग्नता छ पहिचान गर्नेछ ।’