टर्की र सिरिया भूकम्प : मृत्यु हुनेको संख्या ३३ हजार नाघ्यो, बाँचेकाहरूलाई सकस
टर्की / टर्की र सिरियामा गएको विनासकारी भूकम्पका कारण मुत्यु हुनेको संख्या ३३ हजार नाघेको अधिकारीले जनाएका छन्।
भूकम्पको छ दिनपछि पनि आइतबार उद्धारकर्ताहरूले भग्नावशेषबाट थप बाँचेकाहरूलाई निकाले छन्।
पछिल्लो तथ्याङ्क अनुसार टर्कीमा २९ हजार ६ सय ९५ र सिरियामा ३५ सय भन्दा बढीको मृत्यु भएको छ । यो टर्कीमा सन् १९३९ यताकै सबैभन्दा घातक भूकम्प थियो ।
यस्तै जाडोका कारण लाखौं घरबारविहीनको जीवन सकसमा रहेको जनाइएको छ।
राष्ट्रसंघीय सहायता प्रमुखले उत्तरपश्चिम सिरियाका जनतालाई विश्व असफल भएको बताएको रोयटरले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।
‘सिरियामा विद्रोही-नियन्त्रित उत्तरपश्चिममा प्रकोपले सबैभन्दा ठूलो प्रहार गरेको छ। धेरै मानिसहरूलाई फेरि घरबारविहीन बनाएको छ। जो एक दशक पुरानो गृहयुद्धले धेरै पटक विस्थापित भइसकेका थिए। उनीहरु फेरि मारमा परेका छन्।’ रिपोर्टमा भनिको छ।
भूकम्पको केन्द्र नजिकैको टर्की सहर कहरामनमारासका विस्थापित बासिन्दाहरूले लुट्नबाट जोगाउन आफ्नो क्षतिग्रस्त वा ध्वस्त घरहरूको नजिकै पाल टाँगेका छन्।
राष्ट्रपति तैयप एर्दोगानले हप्ता भित्र पुनर्निर्माण सुरु गर्ने वाचा गरेका छन्।
उनी आफ्नो दुई दशकको सत्तामा सबैभन्दा कठिन हुने अपेक्षा गरिएको राष्ट्रिय चुनावको तयारीमा रहदा भुकम्पका कारण थप समस्यामा परेका छन्।