ह्यारिषवर्गमा तीन दिने तमु ल्होसार, परम्परागत पुरोहितमा दिक्षितहरुको सम्मान
ह्यारिषवर्ग,पेन्सिलभेनिया / अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने गुरुङ समुदायले यस पटक लगातार तीन दिन सम्म एकै ठाँउमा भेला भएर ल्होसार मनाएका छन्।
नेपाल बाहिर यसरी बृहत रुपमा तीन दिन सम्म ल्होसार मनाइएको संभवत यो पहिलो पटक हो।
काठमाडौंको टुडिखेलमा मनाइदै आएको ल्होसारको झल्को दिने गरि अमेरिकाको पेन्सिलभेनियाको राजधानी ह्यारिषवर्गमा तीन दिन सम्म धुमधामका साथ ल्होसार मनाइएको हो।
यो अवसर युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाले जुराएको हो।
डिसेम्बर २९ देखि ३१ तारिक सम्म ल्होसार मनाउन अमेरिकाका आठ भन्दा बढी राज्यबाट समुदायका सदस्य पेन्सिलभेनियामा जम्मा भएका थिए।
पहिलो दिन ल्होसार सार्ने काम भएको थियो। दोस्रो शुक्रवार दिउसो खुल्ला पार्कमा विभिन्न परम्परागत खेलकुद आयोजना गरिएको थियो । यस्तै साँझ गुरुङ चलचित्र ‘म्यो क्लु’ प्रदर्शनीका साथै, रोधीं कार्यक्रम र दोहोरी आयोजना भएको थियो।
अन्तिम दिन शुरुमा आफ्नो परम्परागत भेषभुषामा सजिएर झाँकी सहित सडक परिक्रम गरिएको थियो। कलश सहितको झाँकी हलभित्र प्रवेस गरे पछि औंपचारिक कार्यक्रम शुरु भएको थियो।
बहुप्रतिभाका धनी कलाकर्मी तथा तेक्वान्दोकर्मी बिकास घले गुरुङले औपचारिक कार्यक्रम संचालन गरेका थिए।
सोही कार्यक्रममा प्रमुख अतिथि पेन्सिलभेनिया गभर्नरका लागि एशिया प्यासफिक सल्लाहाकार विश्व क्षेत्रीले ल्होसारको उद्घाटन गरेका थिए।
कार्यक्रममा अमेरिका र गुरुङ राष्ट्रिय गीत बजाउनका साथै पुर्खाको सम्मानमा एक मिनेट मौन धारण पनि गरिएको थियो।
यस्तै समाजका जेष्ठ नागरिकको पनि सो अवसरमा सम्मान गरिएको थियो।
कार्यक्रमको बीच बीचमा उत्कृष्ठ साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।
यस्तै युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिका अध्यक्ष प्रदिप गुरुङले गुरुङ सभ्यताको खोजी गर्न नेपाल भ्रमणको बारेमा ४५ मिनेटको पावरपइन्ट प्रस्तुत गरेका थिए।
युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका उपाध्यक्ष एनबी गुरुङले आफ्नो संस्कृति जोगाउन सबैले लाग्नु पर्नेमा जोड दिएका थिए। यस्तै पुष्प गुरुङले कार्यक्रममा स्वागत मन्तव्य दिएका थिए।
पुरोहितमा दिक्षितहरुको सम्मान
कार्यक्रमको थप आकर्षण परम्परागत पुरोहितमा दिक्षितहरुको सम्मान रहेको थियो। नेपाल बाहिर पहिलो पटक परम्परागत पुरोहितमा दिक्षित भएको भन्दै दल ल्हेगाई गुरुङ, सान्ता क्रोम्छे गुरुङ, पदम ल्हेगाई गुरुङ, भीम पोजु गुरुङ, एनबी प्ले गुरुङलाई विषेश सम्मान गरिएको थियो।
तीन वर्ष सम्म अनलाइन मार्फत नियमित कक्षा लिएका उनीहरुले अन्तिममा नेपालमा नै पुगेर गुरुङ संस्कृति र परम्पराको बारेमा दिक्षित भएका थिए।
यो सँगै अव अमेरिकामा पनि गुरुङ संस्कृति र परम्परा अनुसार नै पुजा तथा अन्य कर्महरु सुचारु हुने भन्दै खुसी व्यक्त गरिएको थियो।
अमेरिकाको व्यस्त समयको बीचमा पनि तीन दिन सम्म ल्होसार मनाउन सयौं कलाकार तथा हजारौ दर्शक एकै थलोमा भेला भएका थिए।
छिट्को गुन्यू र चोलीलाई लेङ्गाको ‘धक्का’
ल्होसारको औंपचारिक कार्यक्रममा सहभागि प्रायस गुरुङजातीको मौलिक पहिरनमा थिए। अन्यपनि परम्परागत पोशाकमा थिए।
प्रौढ पुरुषहरु भोटो, कछाड, टोपी र भाङ्ग्रामा देखिएका थिए। यस्तै महिलाहरु पनि मखमली चोली छिट्को गुन्यू र घलेकमा चिटिक्क सजिएका थिए।
तर प्रायस युवतीहरु भने लेङ्गामा थिए। उनीहरुले गुन्यूकै कपडाको लेङ्गा पहिरिएका थिए। कुनै पनि जातिको पहिचान उनीहरुको पोशाकले पनि निर्धारण गर्छ। तर नयाँ पुस्ताले ल्होसार जस्तो महत्वपूर्ण साँस्कृतिक र औपचारिक कार्यक्रममा लेङ्गा लगाउदा भोलीको पुस्तामा गुरुङ जातिमा महिलाहरुको परम्परागत पोशाकका बारेमा गलत नजिर बस्ने भन्दै कतिपयले चिन्ता जाहेर गरेका थिए।
ल्होसारमा सहभागि तमु परिवार न्यूयोर्ककी अध्यक्ष मनिता गुरुङले बजारमा सर्वसुलभ र लगाउन पनि सजिलो भएकाले पनि नयाँ पुस्ता लेङ्गामा आकर्षित भएको बताइन्।
युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिका अन्तर्गत रोधींका अध्यक्ष एवं रचनाकार, संगितकार तथा गायक अगम गुरुङले छिट्को गुन्यूलाई लेङ्गाले विस्तापित गर्नु दुखद पक्ष भएको धारण राखे।
‘यो निकै गम्भिर विषय हो, हामीले यसतर्फ सोच्नै पर्छ।’ समाज टाइम्स सँगको कुराकानीमा गुरुङले भने।
तमु ल्होसारको अवसरमा अमेरिकामा रोधीं