अमेरिकाको टेक्सासमा नेपाली भाषा र संस्कृतिलाई सरकारी मान्यता दिन माग
पेन्सिलभेनिया, अमेरिका / अमेरिकाको टेक्सासमा नेपाली भाषा र संस्कृतिलाई राज्यसरकारबाट मान्यता दिलाउन नेपाली समाज टेक्सासले पहलकदमी शुरु गरेको छ।
टेक्सास अमेरिकामा नेपालीभाषीको बाक्लो बसोबास रहेको मध्ये प्रमुख राज्य हो।
नेपाली समाज टेक्सासका प्रतिनिधि मण्डलले मंगलवार राज्य संसदलाई भेटी आफ्ना मागहरुलाई संबोधन हुने गरि कानुन बनाइदिन आग्रह गरेका छन्।
समाजका अध्यक्ष राजेन्द्र वाग्लेको नेतृत्वको टोलीले राज्य सभा प्रतिनिधि (एचडी -१०५) टेरी मेजालाई भेटि पाँच बुँदे ज्ञापन पत्र नै बुझाइको हो। मेजा डेमोक्र्याटिक दलकी सांसद हुन्। उनी नोभेम्बर ८ मा भएको निर्वाचनमा पुन :निर्वाचित भएकी छन्।
राज्यप्रतिनिधि सभामा बिल लैजादा पाँच कुरालाई समेट्न सो ज्ञापन पत्रमा अनुरोध गरिएको छ।
मुख्य रुपमा नेपाली भाषामा सवारी लाइसेन परिक्षा दिने व्यवस्था गर्न भनिएको छ। यस्तै सरकारी सूचनामा पनि नेपाली भाषाको प्रयोग गर्न माग गरिएको छ।
राज्यद्वारा ‘नेपाली सांस्कृतिक दिवसको घोषणा’, ‘दशैं तिहारमा ( दीपावली) सार्वजनिक बिदा’ दिने व्यवस्था गर्न पनि माग गरिएको छ।
यस्तै विद्यालयमा नेपाली दोस्रो भाषाको प्रयोग र नेपाली सामुदायिक केन्द्रमा सरकारी बजेटको बेबस्था गर्न पनि ज्ञापन पत्रमा माग गरिएको छ।
ज्ञापन पत्र बुझाउनु अगाडि समाजका अध्यक्ष वाग्लेले त्यसमा लेखिएका बेहोरा पढेर सुनाएका थिए। ज्ञापन पत्र सँगै बुद्दको मुर्ति र नेपाली झण्डा पनि दिइएको थियो।
ज्ञापन पत्रमा वाग्लेले नेपाल सहित भारत,भुटान बर्मा लगायतका देशबाट अमेरिका आइ बसोबास गर्ने नेपालीभाषीको संख्या पाँच लाख भन्दा बढी रहेको र टेक्सासमा मात्र यो संख्या ढेड लाख रहेको दावी गरेका छन्।
उनले कतिपय अवस्थामा भाषाका कारण आफ्नो समुदायले समस्या बेहोरेको पनि भनेका छन्।
अध्यक्ष वाग्लेले आफ्नो नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापन पत्रमा सांसद मेजाले सकारात्मक प्रतिक्रिया दिदै प्रकृया अगाडि बढाएको बताए।
समाज टाइम्स सँगको कुराकानीमा वाग्लेले भने, ‘संसदको आउदो शत्रमा छलफल हुनका लागि मंगलवार नै बिल पेश गर्नु पर्ने अन्तिम दिन थियो, सांसद मेजाले हाम्रो मागलाई सकारात्मक रुपमा लिदै तत्काल नै बिल दर्ता गराउनु भएको छ।’
‘हाम्रो माग सिस्टममा गइसेको छ। अब थप लविङ्गका लागि लाग्छौ।’ वाग्लेले समाज टाइम्स सँग भने।