अमेरिकी नागरिक भएर पनि भुटान जान नपाउने नेपाली भाषीका लागि लडछु : डेलिगेट डा. ह्यारी भण्डारी (भिडियो)
मेरिल्याण्ड, अमेरिका / मेरिल्याण्ड विधान सभाका लागि डिस्ट्रिक्स-८ बाट पुन: निर्वाचित डा. ह्यारी भण्डारीले अमेरिकी पासपोर्ट बोकेर पनि भुटान जान नपाउने नेपालीभाषीका लागि अब आफु लड्ने बताएका छन्।
निर्वाचन पछि मतगणनाको प्रतिक्षामा रहेका आफ्ना समर्थकहरुलाई मंगलवार साँझ सम्वोधन गर्दै भण्डारीले नेपाली भाषी भुटानीहरुको समस्याले आफुलाई पिडा हुने गरेको समेत बताए।
‘संसारमा एउटा यस्तो देश छ जस जसले अमेरिकन नागरिक भइसकेकाहरुलाई पनि भुटानमा जान दिदैन, यो कुरा हामी बाँचे सम्म बिर्सन हुदैन।’ भण्डारीले अगाडि भने, ‘एउटा अमेरिकन नागरिक बनिसकेको मान्छे जो हाम्रो भाषा बोल्छ त्यो मान्छेलाई भुटानमा उसको थाकथलोमा जान दिइदैन।’
भण्डारीले नेपालीभाषी भुटानीको यो समस्या आफुले प्रत्येक अमेरिकी सिनेटर सम्म पुर्याउने प्रतिज्ञा पनि गरेका छन्।
‘संसारमा बस्ने नेपालीका लागि चुनौति छ, मैले शुरु गर्छु तपाइले शुरु गर्नु पर्छ, प्रत्येक सिनेटर सँग यो कुरा पुराउन पर्छ।’ भण्डारीले भने, ‘हुन सक्छ उहाँहरुले कुनै कुरा हस्ताक्षर गरे आउनु भएको होला तर कानुन निर्माताले त्यो परिवर्तन गर्नु पर्छ।’
डेलिगेड भण्डारीले नेपाली भाषा र संस्कृतिको पक्षमा अवको पुस्ता लड्नु पर्नेमा पनि जोड दिए।
‘हाम्रा नेपाली दाजुभाईहरु संसारमा छरिएका छौ, ती मध्ये कोही नेपाली भएर नेपाली संस्कृतिको लागि लड्दै गर्दा नेपाली भाषाको लागि लड्दै गर्दा पहिचानका लागि लड्दै गर्दा कोही यदि पिडित छ जाती भने नेपाली भुटनिज हो।’