तिहार मनाउन ओहायोमा उर्लिएको मानव सागर …
कोलम्बस ,अमेरिका / ओहायो राज्यको रेनोल्ड्सबर्ग सिटी काउन्सिलम्यान भुवन प्याकुरेल पछिल्ला दुई साता यता औधीखुसी छन्।
नहुन पनि किन,ग्रेटर कोलम्बसको भुटानी नेपाली समुदायले अक्टोबर २२ तारिक शनिवार रेनोल्ड्सबर्गको सिभिक पार्कमा आयोजना गरेको तिहार मेलाको चर्चा अहिले सम्म सेलाएको छैन्।
सन् २००९ मा अमेरिकामा पाइला टेकेका ४२ वर्षीय प्याकुरेलले जीवनमै पहिलो पटक यतिठूलो जमघट देखेका हुन तिहारको बेला।
भुटानी-नेपाली-अमेरिकी समुदायबाट पहिलो निर्वाचित काउन्सिलम्यान प्याकुरेल अहिले बर्षौ देखिको एउटा उकुस मुकसबाट मुक्त भएको अनुभव गरिरहेका छन्।
‘आफ्नो चाडवाड मनाउन नपाउदा भुटानबाट खेदिएका मान्छै हौ हामी, काउन्सिलमा आए पछि हाम्रो संस्कृतिलाई कसरी जोगाउने भन्ने मनमा थियो, यस पटक हामी सफल भयौ।’ समाज टाइम्स सँगको टेलिफोन कुराकानीमा प्याकुरेलले भने।
पहिलो पटकको बृहत तिहार मेलाको सफल आयोजना पछि रेनोल्ड्सबर्गमा अर्को वर्षको (सन् २०२३) लागि दशै तिहार मेलाको दिन नै तोकेका छन्।
‘जीवनकै ऐतिहासिक क्षण रह्यो, ६ हजार भन्दा बढीले पार्कमा आयोजित तिहार मेलामा भाग लिए।’ प्याकुरेलले भने, ‘तिहार मनाउन मात्र होइन अमेरिकामा एकै पटक यति धेरै नेपालीभाषी एकै ठाँउमा भेला भएको सम्भवत पहिलो हो,अब अर्को वर्ष झन भब्य गरिन्छ, अक्टोवर ७ लाई अहिले नै फिक्स गरियो।’
नेपालीको तिहार मेलालाई स्थानीय सञ्चार माध्यमले पनि उच्च प्राथमिकता दिएर समाचार बनाएका छन्। दि कोलम्बस डिस्पैचले पिटर गिलको वाइलाइनमा तिहार मेलाको फिचर स्टोरी बनाएको छ।
त्यसो त सिटि मेयर जो बेगनी, राज्य प्रतिनिधि सभा सदस्य रिचर्ट ब्राउन, स्टेट सिनेटर टिना महाथा आफै मेलामा आएर तिहार-दिवाली हिन्दु होलिडे भन्दै रिकनाइज गराएका छन्।
‘हामीले हाम्रो चाडपर्वलाई अब मुलधारमा पुर्यायौ यो सबै भन्दा ठूलो खुसी हो।’ सिटी काउन्सिलम्यान प्याकुरेल भन्छन्,’ अमेरिकामा बसेका छौ, जाति त नेपाली हो, नानीहरुलाई आफ्नो संस्कृति मनाउन पर्छ भन्छौ तर घर घरमा मात्र सिमित हुने हाम्रो संस्कृति हो र ? भन्ने भएको थियो अब त्यो हट्यो, हामी नेपालमा झै बाहिर निस्कियौ।’
‘यहाँका स्थानीय चाडवाड खुल्लम खुल्ला धुमधाम मनाउदा हामी घर कोठामा किन खुम्चिने, हाम्रो भाषा संस्कृतिलाई जोगाउनु पर्छ भन्ने भयो।’ ऐतिहासिक जमघटको रहस्य खोल्दै प्याकुरेलले समाज टाइम्स सँग भने।
सेन्टर ओहायो नेपाली एशोसिएशनका अध्यक्ष डा. दामोदर पौडेलले तिहार र दिवाली बारे प्रस्टाए पछि आफुहरु उत्साहित भएको प्याकुरेलको भनाई छ। ‘उहाँले तिहारको बारेमा भन्नु भयो नत्र हामी पनि दिवाली नै भन्दै आएका थियौ, कोरोनाका कारण पोहोर सानो संख्यामा मनायौं, यस पटक सबै बाहिर आयौं।’
तिहार मनाउन सिटीले २५ सय अमेरिकी डलर दिएको र बाँकी रकम व्यवसायीले सहयोग गरेको प्याकुरेलको भनाई छ। अक्टोबर २२ शनिवार दिउसो तीन देखि साँढे सात बजे सम्म मेला भर्न मानिस आएका थिए।
‘कार्यक्रमको परिकल्पना गर्दा चिन्ता थियो, के हुने हो कस्तो हुने, सफल भए हाइहाइ हुन्छ, केही तलमाथि भयो भने बदनाम हुन्छ भन्ने थियो तर सबैको सहयोगले कार्यक्रम भब्य भयो, औधीखुसी छु।’ प्याकुरेलले थपे, ‘भुटानमा चाड मनाउन नपाएर लखेटिएका हामी यहाँ खुल्ला रुपमा मनाउदा बालबालिकाले पनि हाम्रो संस्कृति बारे थाहा पाए, हाम्रो चाड के हो भन्ने बुँझे।’
वर्षौ पछि खुल्ला ठाँउमा सबै जना भेला भएर चाड मनाउदा पाका उमेरका व्यक्ति पनि खुसी भएको प्याकुरेलको अनुभव छ। ‘आमा-बाहरु अङ्गालो हालेर रोए उनीहरु खुसीले रोएका हुन त्यो देख्दा मन आन्नद भयो।’
स्थानीय अनलाइन ‘कोलम्बस डिस्पैच’ १२ वर्षीया खुशी गुरुङ नाच्दै गरेको कभर फोटो राखेर प्रेसित गरेको स्टोरीमा केटाकेटीका रङ्गीन चङ्गाहरूले उज्यालो नीलो आकाश छोएको, हजारौं मानिसहरू बाहिरी स्टेजको वरिपरि घुमिरहेको उल्लेख गरेको छ।
‘युवा समूहहरूले नेपाली भाषामा देउसी-भैलो खेले, टोपी लगाएका पुरुषहरू सारी र कुर्ता सुरवाल लगाएका महिलाहरु खाना र मिठाइहरू खाइरहेका थिए।’ डिस्पैचले अगाडि लेखेको छ,’ नेपालीहरूले काग, कुकुर र गाईको पूजा गरेर तिहार मनाउँछन्। शनिबारको कार्यक्रममा रेनोल्ड्सबर्ग प्रहरी विभागको ‘बहादुर’ नामको कुकुरलाई परम्परागत रूपमा गाँउको फूलको माला लगाइएको थियो ।’
७० वर्षीया रिजालले १२ वर्षअघि शरणार्थी शिविरमा बसेको नेपाल छाडेपछि आफूले देखेको यो सबैभन्दा ठूलो तिहार भएको डिस्पैचलाई भनेकी छिन्, ‘नेपाल र म जन्मेको भुटानमा सधैं यस्तै मेला लाग्थ्यो।’