नेपालमा र अमेरिकामा लक्ष्मीपूजा एकैदिन तर भाइटीका फरक दिनमा किन पर्यो ?
आचार्य मेघराज निरौला
टेक्सास, अमेरिका / ज्योतिष तथा धर्मशास्त्रका मर्मज्ञ विद्वानहरूको आधिकारिक निर्णयबाट हाम्रा पर्वहरू कहिले मनाउने भन्ने कुरा निर्णय हुन्छ र सोही अनुसार बनाइएका पात्रोहरूलाई आधार मानेर चाडपर्वहरू मनाईन्छन् ।
जुन ठाँउमा चाडपर्व मनाउने वा पूजा आराधना गर्ने हो त्यही ठाँउमा सो कर्म गर्न शुभ दिन र साईत हुनुपर्छ भन्ने विज्ञहरूको निर्णय छ। त्यसै अनुसार साँझको प्रदोष कालमा पर्ने कार्तिक कृष्ण औंसी तिथिमा गर्नुपर्छ भनिएको लक्ष्मीपूजा अक्टोबर २४ सोमवार नेपालमा र अमेरकामा एकैदिन परेको छ ।
किनकी अमेरिकाको लागि बनाईएको पात्रोमा अमेरिकाको सोमवार विहान ६ बजेर १९ मिनेटबाट औंसी तिथि सुरू भएर मंगलवार विहान पाँच बजेर ४८ मिनेट सम्म रहेको छ । त्यसपछि तत्काल औंसी सकिएर प्रतिपदा लाग्दछ ।
नेपालको समय अनुसार नेपालकै लागि बनेका पात्रोहरूमा सोमवार बेलुका पाँच बजेर ४४ मिनेटबाट औंसी सुरू भएर मंगलवार बेलुका चार बजेर ३५ मिनेट सम्म रहेको छ । यसरी नेपाल र अमेरिकामा दुवै ठाँउ सोमवार साँझ औंसी पर्नाले लक्ष्मीपूजा एकैदिन पर्यो ।
यसैगरी भाइटिका / यमद्वितीया चाहिं कम्तिमा मध्याह्नसम्म भएको कार्तिकको शुक्ल द्वितीयामा पर्दछ भन्ने विज्ञहरूको निर्णय छ । जस अनुसार अमेरिकाको लागि बनाईएको पात्रोमा कार्तिक शुक्ल द्वितीया अक्टोबर २६ तारिक बुधवार विहान चार बजेर ५० मिनेटबाट सुरू भएर बिहिवार विहान तीन बजेर २७ मिनेट सम्म रहेको देखिन्छ, त्यसपछि तृतीया सुरू हुन्छ ।
नेपालको समय अनुसार नेपालकै लागि बनेका पात्रोहरूमा चाहिं कार्तिक शुक्ल द्वितीया अक्टोबर २६ तारिक बुधवार दिउसो दुई बजेरर ५८ मिनेटबाट सुरू भएर बिहिवार दिवा १२ बजेर ५९ सम्म सम्म रहेको छ र त्यसपछि तृतीया लाग्दछ ।
यसरी अमेरिकामा बुधवार दिनभर र रातभर द्वितीया तिथि देखियो विहिवारचाहिं द्वितीया तिथि देखिएन अपितु सूर्योदय भन्दा पहिलेबाट नै तृतीया सुरू भयो। तर नेपालमा चाहिं बुधवार दिउसोबाट विहिवार दिउसो सम्म द्वितीया तिथि देखियो । त्यसैले गर्दा मध्याह्न व्यापिनी कार्तिक शुक्ल द्वितीया तिथि भएको दिनमा मनाइने भाइटिका पर्व अमेरिकामा बुधवार र नेपालमा विहिवार मनाउनु पर्ने निर्णय गर्नु पर्यो ।
यसरी तिथि, नक्षत्र, योग, करण इत्यादि खगोलीय अध्यनबाट निस्कन्छन् र प्रायः संसारभर एउटै समयमा सुरू भएर एउटै समयमा सकिन्छन् । गते, वार, तारिख र समय भूगोलीय अध्ययनबाट निर्धारित छन् ।
अनि चाडपर्वहरूचाहिं आफू बसेको ठाउं अनुसार बिहानदेखि मध्याह्न सम्मको समय जुराएर मनाउने गरिन्छन् । यसो हुँदा सवैतिर पर्व मनाउने समयमा एउटै तिथि पर्ने भएता पनि भूगोल अनुसार दिन र रातका भेदले हामीहरूलाई कतै अगाडि र कतै पछाडि परेको जस्तो मात्र लाग्ने हो । तर त्यही समयमा ठाँउ अनुसार जहाँ जतिसुकै बजेपनि तिथिचाहिं उही नै परेको हुन्छ । अतः कतै एकदिन अगाडि पर्यो र कतै एकदिन पछाडि पर्यो भनेर द्विविधामा पर्नु पर्ने देखिदैन ।
धन्यवाद ।
(नेपालमा रहनुभएका विशेषज्ञहरूसंगको छलफल र परामर्शको सारांस- आचार्य मेघराज निरौला, टेक्सास )