अमेरिकामा तिहारको देउसी भैलोमा संकलित रकमले गाई किन्ने

ल्यानक्यास्टर,पेन्सिलभेनिया / अमेरिकामा एक सांगीतिक कार्यक्रममा खेलिएको देउसी भैलोमा संकलित रकमबाट गाई खरिद गरिने भएको छ।
पेन्सिलभेनियाको ल्यानक्यास्टरमा शनिवार आयोजित दशैं तिहार लोक दोहोरी उत्सवमा खेलिएको देउसी भैलोमा संकलित ‘दान’ गाई खरिदमा खर्च गरिने भएको हो।
ख्याति प्राप्त गायक प्रेमराजा महत, भगवान भण्डारी,शान्ति भण्डारी, अमृत रामदाम लगायतको प्रस्तुति रहेको कार्यक्रममा देउसी भैलो पनि खेलिएको थियो।
भगवान र शान्तिले देउसी भट्टाएका थिए। त्यस पछि दान दिनेको ओहिरो नै लागेको थियो। दुई सय पचास जना क्षमता रहेको खचाखचहल हलमा क्षणभरमै एक हजार एक सय ७३ अमेरिकी डलर दान संकलन भएको थियो।
त्यसो त कार्यक्रमका मुख्य आयोजक कमल काफ्लेले संकलित रकम ओहायोमा स्थापना हुन लागेको ग्यालिन ओम सेन्टरलाई हस्तान्तरण गरिने प्रष्टाएका थिए।
‘तपाईहरुले देउसी भैलोलाई दान वा कार्तिक दान पनि गर्न सक्नु हुन्छ त्यो दानबाट संकलित रकम हामी ल्यानक्यास्टरबासीको तर्फबाट ओम सेन्टरलाई दिन्छौ।’ काफ्लेको उद्घोष सँगै विषेश गरि हलमा उपस्थित जेष्ठ नागरिक खुसी हुदै दान दिन अगाडि पुगेका थिए।

गायक र गायीका भण्डारीद्वयले देउसी भैलो भट्याउदै गर्दा दौरा सुरुवाल, ढाका टोपीमा सजिएका पुरुष जेष्ठ नागरिक लौरो काँधमा राखेरै मुस्कुराउदै नाचेको देखिन्थो। यस्तै धोति चोलीमा रहेका महिला जेष्ठ नागरिक पनि उत्साहित हुँदै नाचेका थिए।
चलचित्रकर्मी सरिता लामिछाने र मुकेश ढकालले पनि भैलोको उत्साह बढाएका थिए।

‘हाम्रो हरेक संस्कारका लागि गाई नभइ नहुने हो, गाईको गहुँत, गोवर, दुध हामी सबैलाई हरेक कर्मकाण्डमा चाहिन्छ। दशदान बैतर्णीका बेला पनि गाई छुने चलन छ।’ समाज टाइम्स सँग काफ्लेले भने, ‘तिहारमै हामी गाई पुजा गर्छौ तर हामीले पुज्दै आएको गाई यहाँ छैन्, त्यसै कारण ओहायोमा एउटा गाई र बहर पाल्ने तयारी छ।’

काफ्लेका अनुसार ग्लोबल भूट्नीज हिन्दु अर्गनाईजेशनले ओहायोमा गाई पाल्न शुरु गर्दैछ। ‘जाडोको समयमा पनि न्यूनतम ४५ (फरेनहाइट) डिग्री तामक्रम हुने गरि गोठ बनाइदै छ।’ काफ्लेले भने, ‘यहाँ देउसी भैलोमा संकलन भएको रकममा हाम्रो तर्फबाट पनि थप गरि हस्तान्तरण गर्छौ।’
प्रेमराजाले ४० वर्ष अगाडि फर्काए ‘धन्कियो पानको पात’

‘सँगै उत्सव मनाऔं’ भन्ने नारा सहित आयोजित कार्यक्रममा प्रेमराजा महतले माहोल निकै तताए। अमेरिकाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत समेत रहेका महतले कार्यक्रममा उत्साहित रुपमा सहभागि भएकोमा ल्यानक्यास्टरबासीको प्रसंशा पनि गरे।
‘ल्यानक्यास्टरमा यति धेरै जना मान्छे देख्दा खुसी लागेको छ, म यस क्षेत्रको महावाणिज्यदूत पनि हो तपाईहरुलाई केही परेमा सहयोग गर्ने अवसर पाउ।’ महतले भने,’पानको पात सुन्ने कति जना हुनु हुन्छ यो चालिस वर्ष अगाडिको गित हो म नयाँ पुरानो सबै गित गाउछु।’
महतले ‘ऐना हेरेर…’ बाट आफ्नो प्रस्तुति शुरु गरेका थिए। त्यस पछि उनले आफ्नो सदाबहार ‘बाजो खेतमा …’ गाए। जब ‘पानको पात…’ शुरु गरे नाच्ने दर्शकको संख्या ह्वात्तै बढेको थियो।
ल्यानक्यास्टरमा पहिलो पटक प्रत्यक्ष दोहोरी

ल्यानक्यास्टरबासीका तर्फबाट काफ्ले दाजुभाई कमल र ददीले कार्यक्रमको आयोजना गरेका हुन्। कमलका अनुसार ल्यानक्यास्टरमा प्रत्यक्ष दोहोरी कार्यक्रम भएको यो पहिलो अवसर हो ।
‘प्रत्यक्ष लोक दोहोरीको बारेमा मलाई आफैलाई पनि खासै थाहा थिएन।’ कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दै काफ्लेले प्रस्टाए, ‘म शिक्षकको रुपमा गोर्खा बस्दा होस्टेलको व्यवस्थापन अत्यन्त कडा थियो, शिक्षकलाई पनि त्यो लागु थियो। आठ बजेर हिडेर आपपिपल हुदै राति राति लमजुङ बेशिशहर पुगेर दोहोरी सुनेर भोली पल्ट फेरि पढाउथे।’ उनले स्मरण सुनाए, ‘त्यो स्तिथि कहिल्यै पनि बिर्सन्न।’

‘अमेरिकामा बसेको १२ वर्षको अवधीमा प्रायस सबैको घरमा पुगेको छु। जसको घरमा पनि लोक दोहोरी बजेको पाए।’ काफ्लेले भने, ‘तर दोहोरी कसरी गाइन्छ भन्ने धेरैलाई थाहा छैन, पहिल्यै लेखिएको गित जसले पनि गाउछ, तर अहिलेको अहिले नै गीत निकालेर गाउने शैलि हाम्रा नानीहरुलाई देखाउन पनि यो कार्यक्रम गरेका हौ।’
काफ्लेले आफ्नै हलमा गरेको कार्यक्रममा प्रवेस टिकट निशुल्क मात्र होइन डिनरको व्यवस्था पनि गरेका थिए।
‘आज अमेरिका आएर १२ वर्षको अवधीमा हामीले चाहे जति गर्न नेपालमा नपाएको तर यहाँ आएर यो हौसला सहयोग ज्ञान बुद्दिले भ्याए सम्म हामीले गर्ने प्रयास गर्दा गर्दै आज हामी यो स्थानमा आइपुग्न सफल भएका छौं।’ काफ्लेले भने, ‘यो सबै हजुर हरुको माया र सदभावले यहाँ आइपुगेका छौ, आज म यति खुसी छु की २२ वर्ष लामो झुपडिको बसाईको पिडा जीवन सम्झदै गर्दा आज आफ्नै भवनमा हजुरहरुको उपस्थितले अत्यन्त खुसी लागेको छ।’
दुई सय ५० सिट क्षमता रहेको हल पुरै भरिएको थियो, कयौ दर्शक उभिएका थिए। गायक अमृत रामदमले बाँसुरी र हार्मोनियम बजाए। जोरमादलमा खिम मरासाङ्गी मगर र सजिन पुन थिए। गितारमा विराज रामदम तथा सारङ्गीमा सुजन रामदान थिए।
प्रत्यक्ष वाध्यवाधनमा भगवान र शान्तिले दोहोरी गाए । यस्तै अमृतले पनि आफ्ना गितहरु प्रस्तुत गरे।

त्रिविक्रम न्यौपानेले गजल सुनाए। प्रतिभा कला केन्द्रका विद्यार्थीका साथै नृत्यप्रशिक्षक डम्वर भट्टराई आफैले पनि प्रस्तुति दिए। रोशन अधिकारी र उनकी छोरी रेश्मा अधिकारी र आयुशा चापागाँईले एकल नृत्य प्रस्तुत गरे।

रोशनी तामाङ, वर्षा उप्रेती, अर्चु दुलाल, प्रियशा सुवेदी, डेलिसिमा चुहान र रेशिना अधिकारीले तिहार नृत्य तथा प्रिया,वर्षा,रोमिनी,प्रियासा र रेशिनाको मारुनी तृत्य प्रस्तुत गरेका थिए।
ल्यानक्यास्टरमा ‘नेपाल’ भेटे
कार्यक्रममा सम्बोधन गर्दै चलचित्रकर्मी सरिता लामिछानेले अमेरिकामा आएर पनि आफुलाई नेपालमै भएको अनुभुति भएको बताइन।
‘मलाई पेन्सिलभेनिया राज्यको ल्यानक्यास्टरमा आएर तपाईहरुको प्राङ्गणमा बोलेको नभएर मलाई लाग्छकी नेपालको काठमाडौंको कमलादीमा बसेर मैले माइक समाति रहेको जस्तो लागेको छ।’
कुनै समयको चर्चित ‘मुक्ति’ टेलिचलचित्रकी नायिका लामिछानेले भनिन्, ‘किनकी कारण पनि छ शिरमा बुबाहरुको ढाका टोपी, अनि आमाहरुको नाकमा बुलाकी, आमाहरुको मजेत्रो र साडी मैले नेपाली पन त्यहाँ पाएको छु, अनि नानीहरुको नृत्य, म साँच्चि अमेरिका आएको हो भन्ने अनुभव नै भएन।’
यस्तै कार्यक्रमका प्रमुख अतिथि पत्रकार डाक्टर प्रदिप भट्टराईले कार्यक्रम आयोजनाका लागि धन्यवाद दिएका थिए।
डर थियो, अब जिम्मेवारी थपियो
कार्यक्रममा संचालक मनिष उप्रेतिले समुदायलाई फरक स्वाद दिन पाएको खुसी व्यक्त गरे। कार्यक्रम पछि समाज टाइम्ससँगको कुराकानीमा उप्रेतिले भने, ‘हाम्रो समुदायलाई फरक स्वाद दिन पाइयो, यस्तो कार्यक्रम अहिले सम्म भएको थिएन, पृथक रह्यो।’
यस्तै कार्यक्रम आयोजक कमल काफ्लेले शुरुमा डर भएको र अब जिम्मेवारी थपिएको प्रतिक्रिया दिए। ‘हाम्रो समुदायका मान्छेलाई प्रत्यक्ष लोक दोहोरी मन पर्दो रहेछ, अर्को पटक सानो हलले हुदैन भन्ने भयो।’
ल्यानक्यास्टर एडल डे केयरका संस्थापक काफ्लेले शुरुमा कार्यक्रममा मान्छे नै आउदैनकी भन्ने डर भएको बताए। ‘दोहोरी कार्यक्रममा मान्छे नै आउदैनकी भन्ने लागेको थियो, तर थामि नसक्नु भयो, देउसी भैलोमा त्यत्रो पैसा उठ्यो, पहिलो प्रयास सफल भयो, अब अर्को पटक झन राम्रो कार्यक्रम आयोजना गर्ने जिम्मेवारी थपियो।’

तस्विरहरु : दिपेश चापागाँई