एनआरएनए मेरिल्याण्ड च्याप्टरले घर-दैलोमा देउसी भैलो खेल्ने

Getting your Trinity Audio player ready...
|
मेरिल्याण्ड, अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एसीसी) अमेरिका अन्तर्गत मेरिल्याण्ड च्याप्टरले तिहारमा घर दैलोमा नै देउसी भैलो खेल्ने भएको छ।
‘यस वर्षको देउसी भैलोमा हामी तपाईको घर-दैलोमा सोमबार अक्टोबर २४, २०२२ (११ बजे पछि) आउँदैछौँ ।’ मेरिल्याण्ड च्याप्टरद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
मेरिल्याण्ड च्याप्टरले नयाँ पुस्तालाई आफ्नो चाडबाड सँग परिचित गराउन यस्तो कार्यक्रम गर्न लागिएको जनाएको छ।
‘हामी हाम्रा बालबालिकालाई देउसी-भैलो खेल्ने हाम्रो परम्परासँग जोड्न यो कार्यक्रम आयोजना गर्दैछौँ।’ च्याप्टरद्वार जारी विज्ञप्तिमा भनिएको छ, यदि तपाई आफ्नै घर-दैलोमा हाम्रो देउसी-भैलो टोलीसँग देउसी भैलो खेल्न चाहानुहुन्छ भने अथवा तपाई देसी भैलो टोलीमा सामेल हुन चाहनुहुन्छ भने,कृपया हामीलाई सम्पर्क गर्नु होला।’

एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुलिका अनुसार घर आँगनमै पुगेर देउसी भैलो खेलिने छ। ‘हो हामी व्यक्ति व्यक्तिकै घरमा जान्छौ।’ समाज टाइम्स सँगको कुराकानीमा पराजुलिले भने, ‘बाल्टिमोरमा भएका प्रायस सबै संस्थाका अध्यक्षहरुलाई हामीले सम्पर्क गरेका छौ, उहाँहरुले जुन घरमा भन्नु हुन्छ हामी त्यही घर आगनमा पुग्छौ।’
अध्यक्ष पराजुलिले एक संस्थाको एक घरमा देउसी भैलो खेलिने बताए। ‘एउटा घरमा आधा घण्टा सम्म देउसी भैलो खेल्ने कार्यक्रम छ दिन भरमा १२ देखि १५ घर भ्याउछौं।’
नेपालको कला र संस्कृति दोस्रो पुस्तामा हस्तान्तरण गर्न पनि आफुहरुले घर दैलोमा देउसी भैलो खेल्न लागेको अध्यक्ष पराजुलिले बताए। ‘नेपालमा देउसी भैलो कसरी खेलिन्थो भनेर यहाँका बालकालिकालाई देखाउन पनि हामीले कार्यक्रम गर्न लागेका हौं।’ उनले भने
एनआरएनए मेरिल्याण्ड च्याप्टरले गोर्खा समाज मेरिल्याण्ड च्याप्टर, पाल्पाली समाज मेरिल्याण्ड च्याप्टर र साथी बाल्टिमोर मिलेर यो कार्यक्रम आयोजना गरेको हो ।