न्यूयोर्कको ज्याक्सन हाइटमा आज नेपाली कन्सर्ट, प्रवेस निशुल्क
न्यूयोर्क,अमेरिका। तपाई अमेरिकाको न्यूयोर्क आसपासमा बस्नु हुन्छ र आज (अक्टोबर ८ तारिक शनिवार) ज्याक्सन हाइट जानु भएन भने ठूलै माहोल ‘मिस’ गर्नु हुने छ।
‘मिनि नेपाल’ को रुपमा परिचित न्यूयोर्क क्विन्सको ज्याक्सन हाइट स्थित डाइभर्सिटी प्लाजामा शनिबार ढेड दर्जन नेपाली कलाकारले आफ्नो प्रस्तुति दिने छन्।
आयोजक मध्येका एक बुद्ध ट्याक्सका पशुपति श्रेष्ठको दावी अनुसार अमेरिकामा यस प्रकारको कार्यक्रम हुन लागेको पहिलो पटक हो।
‘हलमा टिकट लिएर एक दुई कलाकारले प्रस्तुतिमा सास्कृतिक कार्यक्रम हुँदै आएको हो, तर अमेरिकाको सडकमा यो संख्यामा कलाकारले सामुहिक प्रस्तुति दिन लागेको पहिलो पटक हो।’ समाज टाइम्स सँगको कुराकानीमा श्रेष्ठले भने।
श्रेष्ठका अनुसार ११ बजे देखि शुरु हुने कार्यक्रम साँझ आठ बजे सम्म चल्ने छ। ‘आफु अनुकुल पटक पटक आउने जाने गर्न पाइन्छ।’ उनले भने।
‘दशैं तिहारको उपलक्ष्यमा सडकमा खुल्ला कन्सट गर्न लागेका हौं, टिकट नि:शुल्क हो, अमेरिकामा पहिलो पटक हो।’ श्रेष्ठले भने, ‘कला संस्कृतिको विकास गर्न, अमेरिकामा नेपाली संस्कृति चिनाउन हामीले यो कार्यक्रम गर्न लागेका हौ।’
बुद्ध ट्याक्सका श्रेष्ठ सहित रिभेल इभेन्ट राजेश हमाल र रियल्टर नवराज केसी मुख्य आयोजक रहेका छन्। श्रेष्ठका अनुसार कार्यक्रमका लागि १८ हजार भन्दा बढी खर्च हुने छ।
‘हामीले व्यापार मात्र होइन समाज सेवा पनि गर्छौ भन्ने सन्देश पनि हो यो।’ श्रेष्ठले भने, ‘केही प्रायोजक छन् बाँकी रकम हामी आफै व्यवस्ता गर्ने छौं।’
कन्सर्टमा चर्चित नेपाली कलाकारहरु १९७४ एडीका फिरोज स्याङदेन, सपना श्री, दिपेश किशोर भट्टराई, ग्लुमी गाइजका हरि कर्माचार्य, सञ्जिव प्रधान, तिलक बम मल्ल र निशा सुनारको प्रस्तुती रहने छ।
यस्तै गरि संजोग योञ्जन, बिमल डाँगी, अभय ढुंगेल, रेश्मा सुनुवार लगायतले पनि चिसिदै गरेको ज्याक्सन हाइटलाई तताउने छन्।
कार्यक्रमको संचालन चर्चित टेलिभिजनकर्मी सुरज सिंह ठकुरीले गर्नेछन् । कार्यक्रममा डिजे जाङबु रहेका छन्।