भुटानमा रहेका आफन्त सँग भेटघाटको माग गर्दै अमेरिकामा र्याली
न्यूयोर्क,अमेरिका। ‘मलाई विश्वास छ हामीले जित्ने छौं’ । अमेरिकाको न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघको मुख्यालय अगाडि बुधवार दिउसो झण्डै एक घण्टा यो नारा घक्किरह्यो।
भुटानमा शान्ति र मेलमिलापका लागि विश्वव्यापी रुपमा दवाव दिन आयोजित शान्ति र्यालीमा यस्तो नारा घन्किएको हो। कार्यक्रममा शंख पनि बजाइयो ।
‘यो शुरुवात हो, हामी एक दिन अवश्य सफल हुने छौं।’ पीस एनिसेटिभ भुटानद्वारा आयोजित कार्यक्रममा सहभागि भन्दै थिए।
उनीहरुले भुटानमा रहेका आफन्त सँग भेटघाटको व्यवस्था हुनु पर्ने माग गरे। पीस इनिसेटिभका संयोजक सुरज बुढाथोकीले आफुहरु भुटान जान चाहेको तर नपाएको बताए ।
‘म भुटानमा जन्मिए, नौ वर्षको उमेर हुँदा खेदियो, अझै पनि मेरा आफन्त त्यहाँ छन्, तर अहिले सम्म त्यहाँ जान पाएको छैन। त्यहाँ शान्ति छैन, हामी भुटान जान जान्छौं।’ भुटानी राष्ट्रिय पोशाकमा कार्यक्रममा उपस्थित भएका बुढाथोकीले आफु सँग अमेरिकाको पासपोर्ट भएर पनि भुटान जान नपाएको गुनासो गरे। ‘हामी तत्काल वार्ता चाहान्छौ, हामीलाई सहयोग चाहिएको छ।’
यस्तै पीस इनिसेटिभकी अर्की अभियन्ता दिपिशा केसीले भुटान जेलमा रहेका राजबन्दीको रिहाइ गरिनु पर्ने बताइन। ‘मेरो आमाले हजुर आमालाई भेट्न नपाएको ३० वर्ष भयो, परिवारका सदस्य बीच भेटघाट हुन पाउनु पर्छ, भुटानको जेलमा राजबन्दीलाई मुक्त गरियोस भन्ने हाम्रो माग हो।हामी शान्तिपूर्ण समाधान चाहान्छौं ।’
कार्यक्रममा उपस्थितलाई सम्बोधन गर्दै केसीले भनिन्, ‘वार्ता शुरु होस भन्ने हाम्रो कामना हो। भुटना सरकारले हाम्रो मागलाई सकारात्मक रुपमा लिने छ। आज हामी बाहिर छौ एक वर्ष पछि हामी भित्र हुने छौं।’
यस्तै आरती चापागाईले नेपालमा छुटेका शरणार्थीहरुका बारेमा सोच्नु पर्ने बताइन। ‘नेपालमा रहेका शरणार्थीहरुका बारेमा पनि हामीले केही गर्नु पर्ने छ त्यस कारण हामी यहाँ छौ ।’
शान्ति र्यालीको समर्थनमा विश्व योग समुदायका संस्थापक अध्यक्ष दिलीप थन्कप्पान, संयुक्त राष्ट्रसंघको शान्तिका लागि युवा राजदूत डा. उज्मा गुल, गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले सम्बोधन गरेका थिए।
यस्तै फाउण्डेशनका उपाध्यक्ष सुवर्ण लामा,श्याम कार्की,आदित्य महर्जन,पासाङ नोर्बु शेर्पा र वीरेन्द्र मानन्धरले कार्यक्रमको समर्थन गरेका थिए।
भुटान सरकार र भुटानी डायस्पोरा बीच रहेको आपसी असमझदारीको खाडल कम गर्दै भुटान भित्र भुटानीहरु सँग सकारात्मक सम्बन्ध राख्ने लक्ष्य हासिल गर्न पीस इनिसेटिभ भुटान स्थपना भएको बताइएको छ।
सन् १९९० को शुरुवातमा जातीय विवेदको आधारमा लाखौं नेपालीभाषी भुटानीलाई देश छोड्न बाध्य पारिएको थियो। झण्डै दुई दशक नेपालमा कष्टकर रुपमा शरणार्थी जीवन व्यथित गरे पछि उनीहरुलाई तेस्रो देशमा पुरर्स्थापना गरिएको हो। त्यस मध्ये एक लाख बढी अमेरिकामा छन् भने अझै पनि हजारौ शरणार्थी नेपालमा छन्।
‘न्यायको लागि संघर्ष’ नारा दिइएको शान्ति र्यालीलाई ग्लोबल सिटिजन्स सर्कल, सेन्ट्रल ओहायो, गिरिजा प्रसाद कोइराला फाउन्डेशन अमेरिका, हाउस अफ रिफ्युज, संयुक्त राज्य अमेरिका, विश्व योग समुदाय, र शरणार्थी समुदायको सेवा गर्ने अन्य धेरै गैर-नाफामुखी संस्थाले को समर्थन गरेका छन्।
पीस इनिसेटिभ भुटान के हो ? भिडियो वार्ता