युनाइटेड शेर्पा संघ अमेरिकाको फुटबल खेलतालिका सार्वजनिक,उद्घाटन खेल सिन्धु र दाङ बीच
न्यूयोर्क । युनाइटेड शेर्पा संघ (यूएसए) इंक शेर्पा किदूगको आयोजनामा हुने वार्षिक खेलकुद अन्तर्गत फुटबलको खेल तालिका सार्वजनिक भएको छ।
वार्षिक खेलकुदको २५ औ वर्षगाठ मनाउदै रहेको किदूगको आयोजनामा फुटबलका खेलहरु शुक्रवार देखि शुरु हुने छन्।
ज्याक्शन हाइट स्थित किदूगको हलमा बुधवार सार्वजनिक खेल तालिका अनुसार उद्घाटन खेल शुक्रवार दिउसो तीन बजे देखि सिन्धु एफसी र दाङ एफसी बीच हुने छ।
प्रतियोगितामा सहभागि कुल १३ टिमलाई दुई समुहमा विभाजन गरिएको छ। समुह ए मा सिन्धु एफसी, दाङ एफसी, हिमपात, मुस्ताङ,तामाङ एफसी (रेड) र एनवाईएन एफसी रहेका छन्।
यस्तै समुह बीमा तामाङ एफसी (नीलो), याक एफसी,युनाइटेड शेर्पा एफसी,बाल्टिमोर एसी, दोलखा एफसी, एनवाई नेपाली वारियर्स र तमु परिवार रहेका छन्।
समुह चरणमा एक टिमले दुई खेल खेल्नु पर्ने गरि खेल तालिका बनाइएको छ। समुहको शिर्ष चार टिम क्वाटरफाइनलमा पुग्ने व्यवस्था गरिएको छ।
तीन दिन सञ्चालन हुने प्रतियोगिताको सेमीफाइनल र फाइनल आइतवार हुने छन्।
प्रतियोगिताको विजेताले पाँच हजार पाँच सय ५५ अमेरिकी डलर पाउने छन्। उपविजेताले तीन हजार तीन सय ३३ डलर पाउने छन्।