नागरिकता विधेयकलाई लिएर प्रधानमन्त्री देउवा सहभागि कार्यक्रममा नाराबाजी
काठमाडौँ । ‘नागरिकता विधेयक खारेज गर’ भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित काठमाडौंमा भएको एक कार्यक्रममा सोमवार नाराबाजी भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको राष्ट्रिय विभूति भीमसेन थापाको २४८ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा केही युवाले प्रधानमन्त्रीले सम्वोधन शुरु गर्न लाग्दै गर्दा नाराबाजी गरेका हुन्।
उनीहरूले ‘राष्ट्रिय एकताको रक्षा गरौं’,’स्वाधिनताको रक्षा गरौं’, ‘नागरिकता विधेयक खारेज गर्’, ‘एमसीसीको मतियार मुर्दावाद’ भन्दै नारा लगाएका थिए । नारा लगाउन शुरु गरे लगत्तै सुरक्षाकर्मीले उनीहरुलाई हलबाट बाहिर निकालेका थिए।
त्यस पछि कार्यक्रमलाई सम्बोधन गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले भीमसेन थापाजस्ता वीरहरुको विषयमा नयाँ पिढीलाई जानकारी गराउन आवश्यक रहेको बताए ।
प्रधानमन्त्री देउवाले भीमसेन थापाले नेपालको स्वाधीनता र राष्ट्रियतालाई जोगाउन खेलेको भूमिका अतुलनीय रहेको बताए । उनले पृथ्वीनारायण शाहको पालाबाट सुरु गरिएको नेपालको एकीकरणको कार्यलाई अघि बढाउन भीमसेन थापाको भूमिकाको प्रशंसा गरेर नसकिने बताए ।