ह्यारी भण्डारीले दिए सराहनालाई बधाइ
ल्यानक्यास्टर,पेन्सिलभेनिया । नेपालीमुलका एक मात्र अमेरिकी राज्यसभा विधायक ह्यारी भण्डारीले सराहना श्रेष्ठलाई बधाइ दिएका छन्।
मेरिल्याण्ड राज्य विधायक भण्डारी दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छन्। सन् २०१८ मा भण्डारी पहिलो पटक राज्यसभा सांसद बनेका थिए।
सहराहनाले न्युयोर्क राज्य विधानसभाका लागि डेमोक्रयाटिक पार्टीको प्राइमरी जितेकी हुन्। भण्डारी पनि डेमोक्रयाट नै हुन्।
सराहनाको प्राइमरीमा अर्ली भोटिङ र एब्सेन्टी ब्यालेटको नतिजा भने आउन बाँकी नै छ।
भण्डारीले सराहनालाई दिएको शुभकामना
फेलो डेमोक्रेट सराहना श्रेष्ठलाई वधाइ तथा शुभकामना
हामीले अमेरिकामा इतिहास बनायौ, अब नेपालीलाई देखिने र सुनिने बनाउनु छ !
जुन २८, २०२२, अमेरिकाको नेपाली समुदायका लागि स्वर्णिम अक्षरले लेखिने दिन भएको छ ।
अर्ली भोटिङ र एब्सेन्टी ब्यालेटको मत गणना भइनसकेकाले उहाँको जीतले औपचारिकता पाउँन बाँकि भए पनि ९५ प्रतिशत मत गणना हुँदा ५१.८ प्रतिशत मत
पाइसक्नु भएकाले उहाँको जीत सुनिश्चित छ भन्ने मलाई लागेको छ। यही विश्वासका साथ म उहाँलाई हार्दिक वधाइ तथा शुभकामना दिन चाहन्छु ।
यो जीत प्राइमरी भए पनि डेमोक्रेटिक बाहुल्य यस निर्वाचन क्षेत्रमा उहाँको जीतको लागि लगभग औपचारिकता मात्र बाँकि हुने हो, उहाँले अलवानीको यात्रा तय नै गरिसक्नु भयो भन्दा पनि हुन्छ ।
२०१९ मा मात्र अमेरिकी नागरिकता लिनु भएकी श्रेष्ठको यो सफलता एक मानक उपलव्धी हो र यस्तो उपलव्धी अमेरिका त्यसमा पनि डेमोक्रेटिक पार्टीमा मात्र सम्भव छ भन्ने मलाई लाग्दछ । समयका हिसाबले नयाँ र आकारका हिसाबले सानो हुँदाहुँदै पनि अमेरिकाको नेपाली समुदायले दुई-दुईजना एसेम्बेली सदस्य दिनु भनेको चानचुने कुरा हैन। यसका लागि हामी सबै नेपालीले गौरव गर्न सक्नुपर्छ ।
सन् २०१८ मा मैले मेरिल्याण्ड राज्यको विधायकमा विजयको खाता खोलेको थिएँ र धेरैभन्दा धेरै राज्यमा नेपाली समुदायले यस्तो विजयका लागि प्रयत्न गर्नुपर्छ भनेर यस्तो प्रयत्नमा सहभागी हरेक नेपालीलाई सहयोग, साथ दिदै र सद्भाव राख्दै आएको थिएँ । यही क्रममा न्युयोर्क राज्यबाट अर्को एक नेपाली सहयात्री पाएकोमा म अत्यन्त हर्षित छु र सहकार्यका लागि अत्यन्त उत्साहित पनि छु ।
हामी दुबैजना आगामी नोभेम्बर ८ मा हुने जनरल इलेक्सनमा प्रतिस्पर्धामा छौं । तर, उहाँ ब्लु डिस्ट्रिक्टबाट हुनुहुन्छ भने म पर्पल डिस्ट्रिक्टबाट छु । उहाँलाईभन्दा बढी चुनौति भए पनि मलाई विश्वास छ, यसपटक उहाँ अलबानी र म एनापोलिस पुग्नेछौं । र, हामी अमेरिकामा नेपालीलाई देखिने र सुनिने बनाउने अभियानमा सहकार्य गरेर अघि बढ्नेछौं ।
त्यही आशा र विश्वासका साथ म फेलो डेमोक्रेट सराहना श्रेष्ठलाई यो ऐतिहासिक विजयका लागि वधाइ दिदै आउँने दिनका लागि अग्रिम शुभकामना दिन चाहन्छु ।
– डेलिगेट ह्यारी भण्डारी, पीएच. डी.
सदस्य, मेरिल्याण्ड हाउस अफ एसेम्बेली डिस्ट्रिक्ट – ८