एनआरएनए अमेरिका विवाद : बद्री केसी,रविना थापा र गौरी जोशी बुद्दि सुवेदीको पक्षमा
बिष्णु हरि घिमिरे
ल्यानक्यास्टर, पेन्सिलभेनिया । अन्तत गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी) का दुई अध्यक्ष बद्री केसी र रविना थापा तथा महासचिव गौरी जोशी पनि राष्ट्रिय समन्वय समिति (एनसीसी) अमेरिकाको विवादमा बुद्दि सुवेदीको पक्षमा खुलेका छन्।
तत्कालिन अध्यक्ष कुमार पन्थको अध्यक्षतामा बसेको आइसीसीको बैठकको एक निर्णयलाई आधार मान्दै अमेरिकाज क्षेत्रका संयोजक मध्येका एक प्रकास सापकोटाले कृष्ण लामिछानेको अध्यक्षतामा एनसीसी अमेरिका गठन गरेका थिए।
अमेरिका,बेलायत लगायत अन्य केही एनसीसीलाई, आफुलाई तिर्नु पर्ने शुल्क तोकिएको मितिमा भुक्तान नगरे सम्वन्ध खारेज गरिने निर्णण आइसीसीको बैठकले गरेको थियो। प्रतिनिधि विवादका कारण अबरुद्द आइसीसीको महाधिवेशन र निर्वाचन प्रकृयाको बाटो फुकाउने क्रममा कुमार पन्थको समयमा भएका धेरै निर्णयहरु बागमतिको पानी सँगै बगेका थिए।
तर त्यही निर्णयलाई ठेकेर अमेरिकामा जवर्जजस्त विवाद निकाल्न खोजिएको थियो। त्यसो त बुद्दि सुवेदीका कतिपय गतिविधिले उनलाई लगाम लगाउनु पर्ने त थियो नै तर त्यो बैधानिक बाटो भित्रबाट खोज्नु पर्ने थियो।
काठमाडौंमा बहुपदीय अवधारणामा गएर तीन तीन अध्यक्ष सहित जम्मो कार्यसमिति बनाएर “हामी मिल्यौ” भन्नेहरु फेरि पाखुरा सुर्कन थालेका थिए। चुनाव अगाडिको तुसको हिसाब किताव हुने संकेत देखिएको थियो । बुद्दि सुवेदी अर्का अध्यक्ष कुल आचार्य र महासचिव डाक्टर केशव पौडेल निकट हुन्।
कलिङ्ग काठमाडौं अभियानका मुख्य पात्र एनसीसी अमेरिकाका अध्यक्ष बुद्दि सुवेदीलाई दुख दिन आइसीसीका बाचित पदाधिकारी मध्ये केही लागे । जसको उक्साहटमा प्रकास सापकोटा फसे। आफुलाई पाको राजनीतिक खेलाडी सम्झने कृष्ण लामिछानेले आफु प्रयोग भएको पत्तो नै पाएनन्। निर्वाचित कमिटीलाई कसैको शनकको भरमा भङ्ग गर्न हुदैन भन्ने कुरो उनले बुझेनन् या बुझपचाउन बाध्य भए।
कृष्ण लामिछानेको दाबीलाई मान्ने हो भने आइसीसीका अध्यक्षद्वय डाक्टर बद्री केसी र रविना थापा तथा महासिचव गौरी जोशीको ग्रीन सिग्नलमा नै सापकोटा उक्सिएका हुन्। धेरै वटा छलफलमा केसी, थापा र जोशिले लामिछानेलाई नै अमेरिका एनसीसीको साँचो दिने बचन दिएका थिए। यद्यपी समाज टाइम्स सँगको कुराकानीमा रविना थापा त्यो मान्न तयार भइनन् । गौरी जोशी सम्पर्कमा नै आउन चाहेनन्।
प्रकास सापकोटाको कदमले कुनै समय बुद्दि सुवेदी थाल खाउकी भात खाउ भन्ने अवस्थामा नै पुगेका थिए। आफ्नै बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्त, उपाध्यक्ष बिकास उप्रेतिको चर्को आलोचना र सम्भावित बिद्रोहको नजिकको अवस्थामा पुगेका बुद्दि सुवेदी आइतवार भएको आइसीसी पदाधिकारी बैठक पछि “हिप हिप हुर्रे” भन्दै बुर्लुक बुर्लुकको अवस्थामा छन्। अझ यसरी भनौ अहिलेका लागि उनको खड्को टरेको छ। उनको कार्यसमिति एक जुट भएको छ। पन्त र उप्रेतिहरु अहिले सुवेदीकै पक्षमा लागेका छन्।
एक पदाधिकारीका अनुसार आइतवारको बैठकमा बद्री केसी, रविना थापा र गौरी जोशी यूटर्न भए। उनीहरुले कृष्ण लामिछानेको हर्कतलाई केटाकेटीको खेल भनिदिए। “बच्चाले चकलेट नपाएर पिरोलेको जस्तो होइन एनआरएनए” रविनाले बोले पछि बद्रीले पनि हो हो भन्दै सही थापे । ती पदाधिकारीले समाज टाइम्स सँग भने।
लामिछानेले टेक्सासमा भएको सहमति बुद्दि सुवेदी समुहले नमानेकोले ६ बुँदे सम्झौता खारेज गरेको भन्दै आइसीसीलाई आन्तिरक रुपमा पत्र लेखेका थिए। जुन पत्र समाज टाइम्सले सार्वजनीक गरेको थियो। जुन पाँच तारिक गौरी जोशीको रोहवरमा टेक्सासमा बुद्दि र कृष्ण बीचमा अब मिलेज जाने भनेर सहमति भएको थियो।
“यो मिलिसकेको कुरा हो बच्चा खेले जस्तो कहिले मिल्यो कहिले मिलेन भन्ने हुन्न, ६ बुँदे सहमतिमा बुद्दि सुवेदी कटिबद्द भएको हुनाले केही कमिकजोरी छन भने अब नर्थ क्यारोलिनामा साधरण सभामा गएर सल्टाउ।” बैठकमा रविनाले भनिन् ।
बद्री केसीले पनि अमेरिकाको समस्या समाधान भइसकेको, आन्तरिक सहमति भइसके पछि आएका इमेलहरुको खासै अर्थ हुदैन, कृष्ण लामिछानेको माग पुरा भएको भनेर बैठकमा भने।
नाम उल्लेख गर्न नचाहाने तर समाज टाइम्सको सम्पर्कमा आएका ती पदाधिकारीका अनुसार रविना र बद्री बदलिए पनि सचिवद्वय शंकर खड्का र प्रमोद सिटौलाले अमेरिकाको विवाद नसुल्टिएको भन्दै कृष्ण लामिछाने प्रति सहानुभूति राख्न खोज्दै थिए त्यही बेला महासचिव गौरी जोशी दृश्यमा आए।
जोशीले नामै किटेर भने “प्रमोद र शंकरजी तपाईहरु अब पनि मान्छे उचाल्ने काम नगर्नुस, अब टेक्सास टेक्सास भनेर हुदैन तपाईहरु सबै नर्थक्यारोलिना आउनुहोस के के मिलेको छैन त्यही मिलाउ”
जोशीले अब आफु लामिछानेको पक्षमा नभएको पनि बताए । “म सदैब एजेण्डाको पक्षपाती हुँ, बुद्दि सुवेदीले एमआइएस सिस्टममा जान्छु भने पछि मेरो एजेण्डा सकियो अब म तपाईहरु सँग छैन।”
बैठकमा मात्र होइन गौरीले अर्का महासचिव डाक्टर केशव पौडेल सँग संयुक्त हस्ताक्षर सहित बुद्दि सुवेदीलाई शुभ कामना नै दिए।
उपमहासचिव रामशरण सिम्खडा बाहेक कृष्ण लामिछानेको पक्षमा बोल्ने अर्को पदाधिकारी आइसीसीको आइतवारको बैठकमा भएन। लामिछानेलाई पटक पटक उकास्ने डाक्टर हेमराज शर्मा पनि आइतवार मौनब्रतमा थिए।
विचरा कृष्ण लामिछाने बने भकुण्डो “न यता न उता”
उनका जिल्लाबासी पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले एक प्रसंङ्गमा पुरानो उखानलाई प्रयोगमा ल्याएका थिए। “अभागिलाई खाने बेलामा ज्वरो आउछ” त्यो उखान अहिले कृष्ण लामिछानेलाई हुबहु मिलेको छ।
अरुका लागि छिटो प्रयोग हुने लामिछानेको स्वाभावले उनलाई फेरि धक्का लागेको छ। भुई नहेरी उफ्रिदा मान्छे चिप्लिनसक्छ। ठ्याक्कै त्यही भयो। खासमा त्यही बेला लामिछानेले अध्यक्ष बन्ने प्रस्ताव मान्न हुने थिएन्। चुनाव हारेको मान्छे त्यही कार्यकाल टिके अध्यक्ष हुनु नैतिकताको खडेरी पनि हो। हुन त लामिछानेलाई दाउमा राखेर बद्री देखि गौरी सम्मले बुद्दि सुवेदीलाई गलाएकै हुन्। स्वार्थ पुरा भए पछि टेक्सासमा केक कटाएकै हुन। त्यो बेला बिचारै नगरि नखानु क्वाप्प केक खाए पछि अहिले यति छिट्टै ओकल्न हुने थिएन।
लामिछाने अमेरिकामा मात्र होइन नेपालमा पनि चिप्लिएका छन्। नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतसँग लामिछाने पारिवारिक साइनो नै जोड्छन्। उनै महतकै बलमा कांग्रेस महाधिवेशन प्रतिनिधि समेत छनौट भएका लामिछाने अहिले भने हेरेको हेरेकै भए। किनकी शेखर कोइराला निकट बुद्दि सुवेदीले पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाकै शुभ कामना पत्र ल्याउन सफल भए।
कार्यसमितिको निर्णय विपरित बुद्दि सुवेदी सँग सम्झौता गरेको भन्दै आफ्नै टिमबाट कारवाहीमा परेका लामिछानेलाई अब सिपि पौडेलको कार्यवहाक पद खोस्न त्यति सहज छैन। सिपी पौडेलले टेक्सास भेलालाई निरन्तरता दिने बताउदै आएका छन्।
अर्को कुरा संस्थामा सुधार सडकबाट मात्र होइन हल भित्र नै खोज्नु पर्छ । अझै पनि मौका गुमेको भने छैन। यदी बुद्दि सुवेदीले गल्ति गरेकै हुन र उनलाई साइजमा ल्याउनु नै छ भने नर्थक्यारोलोना त्यसका लागि सुवर्ण अवसर छ। बुद्दि सुवेदीलाई कारवाही गर्ने एउटै निकाय साधरण सभा नै हो न की प्रकास सापकोटा। लामिछानेहरु त्यहाँ पुग्नै पर्छ। यदी त्यसो भएन भने कृष्ण लामिछानेबाट तेस्रो भुल हुने छ। एनआरएनए अभियानमा उनी धेरै पछि हुने छन् । न यता न उताको ।
अध्यक्ष रविना थापा स्वयम पनि त्यो कुरामा सहमत छिन।
“उहाँहरु सहमतिमा आए पछि दुबै पक्षलाई राखेर काम गरि रहेका छौ अब म केटाकेटी होइन नी उहाँहरु हतार हतार मिल्नु भयो अहिले होइन भनेर हुन्छ ?” रविनाको प्रश्न छ।
“हामी जहिले पनि संस्थाको हितमा काम गर्छौ ८५ संघलाई एउटै निमय लागु हुने हो। चुनावको बेला जे भयो भयो अब मिल्न पर्छ भन्ने नै हो अरुले उचालेको भए थाहा छैन म लामिछानेलाई अध्यक्ष बनाउनु पर्छ भन्ने पक्षमा शुरु देखि नै छैन।” आइसीसीको बैठक पछि समाज टाइम्स सँग कुरा गर्दै रविनाले भनिन्, “उहाँहरुले म सँग सल्लाह गर्नु भएको भए विधान विपरित लामिछानेको कमिटी बनाउने सुझाव नै दिने थिइन।”
रविनाले कृष्ण लामिछानेलाई पनि नर्थ क्यारोलिनामा हुने साधरण सभामा भाग लिन आग्रह गरेकी छिन्। “त्यहाँ गएर छलफल गर्ने हो नमिलेका कुरा त्यही गएर मिलाउने हो। यदी बुद्दि सुवेदीले गलत काम गरेको हो, विधानमा गलत हुदै छ भने त हलमा गएर रोक्नु पर्योनी जादै नगएर उनीहरुलाई सजिलो बनाएर हुन्छ र?”