अमेरिकामा सार्वजनिक स्थलमा एक नेपाली कुटिए,गम्भिर अवस्थामा अस्पताल भर्ना,सहयोगको अपिल
ओकल्यान्ड, क्यालिफोर्निया । अमेरिकामा एक नेपाली सार्वजनिक स्थलमा गम्भिर रुपमा कुटिएका छन्।
क्यालिफोर्नियाको ओकल्यान्ड स्थित फक्स थिएटरको अगाडि २५ वर्षीय सागर (ओशन) तामाङ कुटिएको जनाइएको छ।
सागरका साथी विमला थापाका अनुसार मे २८ तारिक राति ११ बजे तिर यो घटना भएको हो। सागर काम सकेर ओकल्यान्डको डाउनटाउनको सडकमा स्यान्डविच किन्न निस्कँदा उनी कुटिएका हुन् ।
“उनी हिँड्दै गर्दा पछाडिबाट निर्मम आक्रमण भयो र भित्रि कपडाहरु बक्सर, टिसर्ट र मोजा मात्रै साथमा छोडियो,” विमालाले सागरको सहयोगका लागि स्थापना भएको गोफण्ड पेजमा लेखेकी छिन् “उनको फोन, पर्स, प्यान्ट, जुत्ता र लामो कोट लुटिएको थियो र सागर सडकमा बेहोस अवस्थामा थिए।”
घटना पछि सागरलाई हाईल्यान्ड हस्पिटलको इमर्जेन्सीमा पुर्याएको थियो । उनको लेभल १ ट्रमाको उपचार गरिएको बताइएको छ।
उपचारका लागि सहयोगको अपिल गर्दै पोष्ट गरिएको सागरको तस्विरमा अनुहारमा नराम्ररी चोट लागेको र सुन्निएको देखिन्छ ।
पुलिसले सागर माथिको क्रूर आक्रमणको अनुसन्धान गरिरहेको जनाएको छ। आक्रमणलाई स्थानिय सञ्चार माध्यमले एशियाली अमेरिकन माथिको आक्रमण भनेर लेखका छन्।
विमलाले पनि ‘हामीलाई सधैं डरविना बसेको ठाउँमा सुरक्षित महसुस गर्ने अधिकार छ ।” भनेर लेखेकी छिन्।
एसियाली अमेरिकीहरू र प्यासिफिकहरुको गैर नाफमुलक संस्था “स्टप एएपीआई हेट” ले क्यालिफोर्नियामा एशियन अमेरिकन विरुद्द घृणा र हिसांका घटना बढेको जनाएको छ ।