ओलीले पाेखरामा भने- चुनावमा पाँचवटा बाँदर छन्, मतपेटिका खाेस्न सक्छन्
पोखरा । नेकपा एमाले अध्यक्ष केपी ओलीले पाँचदलीय गठबन्धनलाई पशुपतिको बाँदरसँग दाँजेर मतपेटिका लुट्न सक्ने आरोप लगाएका छन् ।
‘पशुपतिमा फूलपाती लिएर गयौं भने फूलपातीको टोकरी बाँदरले खोजेर लान सक्छ,’ उनले भने, ‘त्यहाँ त एउटा बाँदर आउँछ । यहाँ (चुनावमा) पाँचवटा छन् । हामी सतर्क हुन जरुरी छ । धाँधलीबाट परिणामलाई तलमाथि हुन दिनुहुँदैन ।’
गठबन्धनले धाँधली गर्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन उनले कार्यकर्तालाई सुझाएका छन् । ‘पाँचदलीय गबठन्धन भोटले जित्ने होइन । भोटले हारेपछि मतपत्र च्यात्ने, चपाउने, निल्ने गर्छन् । के के गर्न सकिन्छ नचाहिँदो त्यही गर्छन्,’ उनी भन्छन्, ‘गठबन्धनमा आफ्ना मात्रै मान्छेलाई प्रवेश गर्न दिने नीति छ । एमालेलाई पार्टी मात्रै होइन लोकतन्त्र जित्ने कुरामा छौं । हामी जनताले दिएको मतबाट जित्ने पक्षमा छौं । कसैले शान्ति सुब्यवस्थामा खलल पार्न खोज्छ भने, धाँधली गर्न खोज्छ भने हामीले रोक्नुपर्छ । बाकस एकछिन पनि आँखाबाट ओझेलिन दिनु हुँदैन ।’
उनले निर्वाचन आयोग र प्रशासनलाई भयरहित वातावरणमा तटस्थ भएर चुनाव गर्न सुझाए । ‘एमालेलाई प्रशासन र प्रहरीको सहयोग चाहिँदैन । मतदाताबाट सहयोग छ,’ ओलीले भने, ‘तपाईंका सहयोग एमालेलाई चाहिँदैन । तटस्थ निर्वाचन गराउनुस् ।’ उनले गठबन्धन झाडीमा जन्मिएको भन्दै कसैले साथ नदिने टिप्पणी गरेका छन् । ‘परमादेशबाट आएको गठबन्धन हो । कसले फालेको हो थाहा छैन । यस्तो गठबन्धनलाई कसैले साथ दिन्छ भन्ने लाग्दैन,’ उनले भने ।
बजेट पठाउँदिन भन्न तिनको माइतीको पेवा हो
अध्यक्ष केपी शर्मा ओलीले विकासका लागि पठाइने बजेट कसैले रोक्न नसक्ने बताएका छन् । पोखरामा आयोजित चुनावी सभालाई मंगलबार सम्बोधन गर्दै ओलीले बजेट पठाउँदिन भन्नलाई कसैको पेवा नभएको बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले कांग्रेसले नजित्ने क्षेत्रमा बजेट नपठाउने बताएकी थिइन् । त्यसको प्रतिवाद गर्दै ओलीले भने, ‘विकासका लागि बजेट पठाउँदिन भन्ने तिनको माइतीको पेवा हो ? हामीले नजितेका क्षेत्रमा बजेट दिदैंनौँ भन्न पाइन्छ ?’
केही दिन डडेल्धुरामा आयोजित चुनावीसभामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीपत्नी आरजुले कांग्रेस नजित्ने क्षेत्रमा बजेट दिन नसकिने बताएकी थिइन् । ओलीले विकास बजेट कसैले पनि रोक्न नसक्ने बताएका हुन् ।
कांग्रेसलाई ओलीको प्रश्न- किसुनजी र गणेशमानले हाँसेर पार्टी छाड्नु भएको थियो ?
प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले नेपाली कांग्रेस त्यसै नछाडेको बताएका छन् । उनले कांग्रेस बिग्रिएका कारण नेताद्वयले जीवनको अन्तिमकालमा पार्टी छाडेको बताए ।
गण्डकी प्रदेशको राजधानी पोखरामा साेमबार आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले दुवै नेता नाच्दै हाँसेर पार्टीबाट ननिस्किएको बताए ।
‘कृष्णप्रसाद भट्टराई (किसुनजी)ले यत्तिकै कांग्रेस पार्टी छाडेका होइनन् । जीवनको उत्तरार्द्धकालमा पार्टी छाड्नुभयो । नेता गणेशमान सिंहले पनि यत्तिकै पार्टी छाड्नु भएको होइन । २००३ सालमा भद्रगोल जेल तोडका नेताले यत्तिकै हाँस्दै हाँस्दै, नाच्दै नाच्दै पार्टी छाड्नुभयो होला ?’, ओलीले भने ।
उनले बिपी कोइराला अहिले भएको भए पनि पार्टी छाड्ने थिए भनेका छन् । यस्तै उनले देश बनाउने पार्टी रहेको बताए । एमाले नीति कार्यक्रम, योजना र देश विकासको संकल्प भएको पार्टी भन्दै उनले पोखरावासीसँग मत मागेका छन् ।