कांग्रेसका नेताहरूले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागे : केपी ओली
चितवन । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका नेताहरूले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेको बताएका छन् ।
नेकपा एमाले चितवनले आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कांग्रेसका कार्यकर्ताप्रति सहानुभूति प्रकट गरे ।
जिन्दगीभर कांग्रेस भनेर हिंडेका कार्यकर्ताहरुको मन रोएको भन्दै उनले देश बनाउने अभियानमा लागेको एमालेमा आउन आग्रह गरे ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धम्काएर जनतासँग भोट मागेको भन्दै ओलीले प्रचण्डको छोरीलाई भोट नदिएर कुनै दुर्घटना नहुने गठबन्धन मात्र हार्ने बताए ।
प्रचण्डको धम्काउने बानी अझै नगएको उनकाे भनाइ छ ।
कांग्रेस चितवनका कार्यकर्तालाई ओलीको प्रश्न- तपाईंका नेताले पार्टी सिध्याए, के हेरेर बस्नु भएको ?
ओलीले चितवन नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि नेताले पार्टी सिध्याउन लाग्दा के हेरेर बसेको भन्दै प्रश्न गरेका छन् । चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेसका शीर्ष नेताले पार्टी सिध्याउन लागेको भन्दै जोगाउने जिम्मा काँधमा आएको बताए ।
‘टाउकै नेताहरूले पार्टी सिध्याउन लागिसके । तपाईंहरू के हेरेर बस्नुभएको छ ?’, ओलीले प्रश्न गरे । चितवनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरीलाई सधैँ जिताउने जिम्मा नेपाली कांग्रेसको भएको भन्दै प्रश्न गरे ।
‘अस्ति मात्रै धम्की सुन्नुभयो होला । मेरो छोरीलाई भोट दिनुभएन भने देश दुर्घटनामा जान्छ । हैन उनको छोरीलाई कांग्रेसले भोट दिएर जिताइदिनुपर्ने ?’, ओलीले प्रश्न गरे ।
आफ्नो छोरीलाई भोट दिएमा गठबन्धन १५–२० वर्ष जोगाइदिने भन्दै कांग्रेसले आफ्ना नेतालाई कहिल्यै उम्मेदवार बन्न नपाउने बताए । अहिलेको पाँच दलीय गठबन्धनलाई सपनामा पनि एमाले देखेपछि जुरुक्क उठ्ने अवस्था आएको बताए ।
अहिलेको पाँच दलीय गठबन्धनका नेताहरू निर्वाचन आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोग मुखदर्शक बनेको ओलीको आरोप छ ।
प्रचण्ड र आरजुलाई ओलीको कटाक्ष- बजेट तिनको घरको सम्पत्ति हो ?
ओलीले सरकारी बजेट कसैको व्यक्तिको घरको सम्पत्ति नभएको बताएका छन् । चितवनमा आइतबार आयोजित चुनावीसभामा बोल्दै अध्यक्ष ओलीले बजेट कसैको घरको सम्पत्ति नभएको बताएका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले आफ्नो उम्मेदवार नजित्ने क्षेत्रमा बजेट नदिने बताएका थिए ।
उक्त कुराप्रति कटाक्ष गर्दै ओलीले सरकारी बजेट कसैको व्यक्तिको घरको सम्पत्ति नभएको बताएका हुन् । ‘बजेट दिन्न भन्ने कुरा तपाईंहरूले सुन्नु भएकै छ । के बजेट तिनको घरको सम्पत्ति हो ? तिनको गोजीको पैसा हो ? उनीहरूले दिन्न भनेर हुन्छ ?,’ ओलीले प्रश्न गरे ।
अबको चुनावमा गठबन्धनलाई पराजित गराएर नेकपा एमालेलाई विजयी गराउन सबैमा अनुरोध गरे । अबको सरकार नेकपा एमालेको भएको भन्दै एमालेकाे सरकार बनेपछि सबै ठाउँमा विकास हुने बताए ।
कर्मचारी तथा सुरक्षा निकायलाई ओलीको आग्रह- निर्वाचनलाई निष्पक्ष मात्र बनाइदिनुहोस्
ओलीले कर्मचारी तथा सुरक्षा निकायलाई निर्वाचन निष्पक्ष बनाउनतिर लाग्न आग्रह गरेका छन् । अध्यक्ष ओलीले कर्मचारी, सुरक्षा निकाय, निर्वाचनमा खटिने कर्मचारीहरूलाई यस्तो आग्रह गरेका हुन् ।
‘सेना, प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, निर्वाचन आयोगका कर्मचारीहरू तपाईंहरूले एमालेलाई जिताउन सहयोग गर्नुपर्दैन् । तपाईंहरूले निर्वाचन निष्पक्ष मात्र गराईदिनुहोस् । गठबन्धन त्यसै जान्छ,’ ओलीले भने ।
निर्वाचनपछि गठबन्धनको पत्तासाफ हुने भन्दै आउने सरकार नेकपा एमालेको हुने बताए । भरतपुर महानगरको मेयरका उम्मेदवार विजय सुवेदी हट लाइन नेता भएको बताए । भोट हालेर उम्मेद्वारलाई जिताए विकास गर्ने जिम्मा आफ्नो भएको उनको भनाइ छ ।