‘हु ईज केपी ओली’ भन्नेलाई ३० गते जनताले देखाइदिन्छन् : केपी ओली

Getting your Trinity Audio player ready...
|
काठमाडौं ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘हु ईज केपी ओली’ भन्नेलाई ३० गते (३० वैशाख) देखाइदिने बताएका छन् । हेटौंडामा एमालेले आयोजना गरेको कार्यक्रममा ओलीले आफूलाई कतिपयले हु ईज केपी ओली भन्ने गरेको भन्दै ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको नतिजाले देखाइदिने बताए ।
‘यो मलाई भनेको होइन, समग्र एमालेलाई भनेको हो । त्यो त हामी ३० गते देखाइदिन्छौं । त्यसपछि थाहा हुनेछ, को हो केपी ओली भनेको,’ ओलीले भने । आफ्नो नेतृत्वको सरकार कोरोना महामारीको बेला पनि कर्मचारीको तलब भत्ता बढाउने हिम्मत राखेको ओलीको भनाइ छ ।
वृद्ध भत्ता बढाएर ज्येष्ठ नागरिकको पार्टी एमाले भएको उनको भनाइ छ । कोभिड दुनियाँमा फैलिएको बेला आफूले पहिलो परीक्षणका लागि हङकङ पठाइएको स्मरण गराउँदै अहिले देशभर जताततै परीक्षणको व्यवस्था मिलाएको बताए ।
दुई अर्ब ५० करोडभन्दा बढी पैसा तिरेर पनि औषधि ल्याउन नसकेको वर्तमान सरकार भ्रष्टाचारको चंगुलमा फसेको बताए । अहिलेको सरकारमा रहेका मन्त्रीहरूलाई औलो समाएर हिँड्न सिकाएको ओलीको भनाइ छ । रेडियो टेलिभिजनमा गएर पाँच हजार तिरेर कोभिडविरुद्धको खोप लगाएको भन्दै गलत प्रचार प्रसार गर्दै हिँडेको बताए ।
वर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्यमन्त्रीमा नियुक्त हुँदा पाँच हजार तिरेर कोरोनाविरुद्धको खोप लगाएको बताएका थिए । उक्त भनाइको खण्डन गर्दै ओलीले निःशुल्क लगाइएको खोपलाई पैसा तिरेर भनिएको बताए ।
हेटाैंडा पुगेर ओलीको कटाक्ष, अहिलेका स्वास्थ्यमन्त्री अगस्ते जस्ता
एमाले अध्यक्ष केपी ओलीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई अगस्तेको संज्ञा दिएका छन् । स्वास्थ्यमन्त्रीको गृहजिल्ला हेटौंडामा आयोजित कार्यक्रममा ओलीले अहिलेका स्वास्थ्यमन्त्री खतिवडा अगस्ते जस्तो अनुहार भएको आरोप लगाएका हुन् ।
‘केन्द्रमा स्वास्थ्यमन्त्री को छ मैले भनिराख्नुपर्ला जस्तो लाग्दैन् । अगस्ते जस्तो अनुहार भएका छन्,’ उनले भने, ‘अगस्ते भन्ने एउटा ऋषि थिए । जति खाए नपुग्ने, जति पानी खाए नपुग्ने, जति पानी पिए पनि प्यास नमेट्ने । त्यस्तै १४ लाख डोज ह्वाम पार्दा पनि नपुग्ने, अरबौ खाँदा पनि पेट नभरिने ।’
वर्तमान सरकारले २४ लाख डोज कोरोनाविरुद्धको खोप खाएको ओलीको ओलीको आरोप छ । ‘२४ लाख डोज भ्याक्सिजन क्याप्सुल निलेझै स्वाट्ट निले । २४ लाख डोज ट्रकमा अटाउँदैन्, त्यति सर्लकै निले । अहिले अरबौंका औषधि औजारहरू, सिटी स्क्यानका मेसिनहरू, एक्सरे मेसिनहरू कुनै अस्पताललाई चाहिएर होइन, डाक्टरले चलाउने गरी कुनै जिल्लालाई माग भएर होइन, पैसा चाहिएर, कमिसन चाहिएर चुनावको मुखमा खरिद हुँदैछ,’ ओलीले भने ।