विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपाली निर्णायक, नोर्बु लामाले पाए अवसर, ५ जना खेलाडीले पनि भाग लिदै
काठमाडौं । विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपाली निर्णायक नोर्बु लामाले निर्णायकको भूमिका निर्वाह गर्दै छन् ।
प्रतियोगिता सोमबारदेखि दक्षिण कोरियाको गोयाङमा सुरु हुँदै छ ।
तेक्वान्दोका सहायक प्रशिक्षक नोर्बुले पुम्से विधामा निर्णायकको भूमिका निर्वाह गर्न लागेका हुन् । उक्त प्रतियोगिता पुम्सेकै विश्व च्याम्पियनसिप भएको बताइएको छ ।
नोर्बुले सन् २०२०, २०२१ र २०२२ मा एसियाली खुला, २०२२ मा विश्व तेक्वान्दो मुजु प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।
त्यस्तै अनलाइन प्रतियोगितामा पनि उनी निर्णायकको जिम्मेवारीमा रहिसकेका छन् ।
तेक्वान्दो खेलाडीको बिदाइ
यही अप्रिल २१ देखि २४ तारिखसम्म दक्षिण कोरियाको गोयाङ सहरमा आयोजना हुने वल्र्ड पुम्से च्याम्पियनसिपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
च्याम्पियनसिपमा पुरुष ५० वर्षमुनिको समूहमा रोशन खान, ४० वर्षमुनि समूहमा कमल श्रेष्ठ, ३० वर्षमुनिको समूहमा प्रेमबहादुर लिम्बू र पार्वती गुरुङ तथा जुनियरको १७ वर्षमुनिको समूहमा अब्बास अन्सारीले प्रतिस्पर्धा गर्ने छन् ।
च्याम्पियनसिपमा सहभागी हुन लागेका कमल र पार्वती १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् ।
च्याम्पियनसिपमा स्वर्ण जितेमा एक लाख ५० हजार, रजत पदक जितेमा एक लाख र कांस्य पदक जितेमा ५० हजार नगद पुरस्कार प्रदान गरिने बताइएको छ ।