“शेष घलेलाई एनआरएनएको मूलधारमा फर्कन मेरो सल्लाह रहन्छ” : प्रचण्ड
काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेष घलेलाई पनि गैरआवासीय नेपाली संघ एनआरएनएको मूलधारमा फर्कन आफुले सल्लाह दिने बताएका छन् ।
एनआरएनए संस्थापन पक्षको नव मनोनित टिम र पूर्व अध्यक्षहरु सँग मंगलवार भएको भेटमा बोल्दै अध्यक्ष प्रचण्डले विवाद समाधानका लागि तीन अध्यक्षको मोडालिटि राम्रो भएको बताए । उनले मुलधारमा रहेको संस्थाले नै आधिकारिकता पाउने बताए ।
“शेष घलेजीले किन त्यस्तो गर्नु भयो मैले बुझेको छैन, र मैले सोध्न पनि चाहेको छैन्, के कारणले यस्तो भएको हो भनेर । मौका मिल्यो भने उहाँलाई यस्तो नगरौ यतै जोड्यौ भन्ने सल्लाह रहन्छ ।’ प्रचण्डले भने ।
एनआरएनएका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेले समुहले छुट्टै महाधिवेशन गर्दै विनोद कुँवरको अध्यक्षतामा कमिटी निर्वाचित गरेको छ । सो समुहले आफुहरु आधिकारिक भएको दावी गर्दै अदालत सम्म पुग्ने तयारी गरेको जनाएको छ ।
घले समुहको महाधिवेशनको उद्घाटन अर्थमन्त्री जनार्शन शर्माले गरेका थिए ।
उनले गैरआवासीय नेपाली संघ एकजुट भएकोमा आफू एकदम खुसी भएको बताए । अध्यक्षले भने, ‘यो एनआएनएको होइन, यो नेपाली जनताको एकतालाई तपाईंहरूले दिएको सन्देश हो । अप्ठ्यारोको बीचबाट पनि नेपालीले बाटो पहिल्याउन सक्छन् भन्ने एकता र क्षमताको सन्देश छ यसमा । नेपालीहरूले अप्ठ्यारोको बीचमा पनि नेतृत्व क्षमता राख्छन् भन्ने सन्देश यसमा छ ।’
प्रचण्डले एनआरएन नागरिकता र विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था दिलाउने बाटो खोजि भइरहेको बताए ।
“अहिले स्थानीय निर्वाचनमा नै त सम्भव नहोला तर प्रदेश र संघिय निर्वाचन सम्मका लागि प्रयास रहन्छ ।”