सांस्कृतिक चाडको रुपमा मान्यता दिन अमेरिकी संसदमा दशै विधेयक निर्णायक मोडमा : सांसद डा. ह्यारि भण्डारी
अमेरिका । नेपालीहरुको महान चाड बडा दशैलाई अमेरिकामा पनि सांस्कृतिक चाडको रुपमा मान्यता दिने दशै विधेयक निर्णायक मोडमा पुगेको छ ।
नेपाली मुलका एक मात्र अमेरिकी सांसद डाक्टर ह्यारि भण्डारीले यो प्रयास गरेका हुन् । मेरिल्याण्ड राज्यको संसदमा यो विधेशक भण्डारीले नै पेश गरेका हुन् ।
भण्डारीले बिहिवार राति विज्ञप्ति जारी गर्दै ‘अमेरिकाको मेरिल्याण्ड राज्यमा दशैलाई एक सांस्कृतिक चाडका रूपमा मान्यता दिलाउन गरिएको विधायिकी प्रयास निर्णायक मोडमा आइपुग्न लागेको सुनाउँन पाउँदा खुशी लागेको छ।’ भनेका छन् ।
भण्डारीका अनुसार राज्यसभाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्सको स्वास्थ्य तथा सरकार सञ्चालन समितिमा विधेयक बहुमतले पारित भएर संसदको पूर्ण बैठकमा पठाउने निर्णय भएको छ।
विधेयक दुबै दलका सांसदको भारी मत पाएर बाइपार्टिसन विधेयकका रूपमा पारित भएको हो। समितिमा आउनुअघि विधेयक सरकार सञ्चालन उपसमितिमा सर्वसम्मतिले पारित भएको थियो।
यो विधेयक कानून बन्न अझै केही खुड्किलाहरू बाँकि छन्। अब यो विधेयक संसदको पूर्ण बैठकमा जान्छ र त्यहाँ पारित भएमा यसले अर्को खड्को पार गर्ने छ। माथिल्लो सदन सिनेटमा क्रस फाइल भएको विधेयक त्यहाँ छलफल भएर पूर्ण बैठकको प्रक्रियामा छ।
अब दुबै सदनको पूर्ण बैठकले पारित गरेपछि विधेयक गभर्नरकोमा जान्छ। र, गभर्नरले हस्ताक्षर गरेपछि विधेयक कानून बन्छ। कथमकदाचित गर्भनरले हस्ताक्षर नगरे पनि संसदको दुबै सदनमा भिटो प्रुभ्ड बहुमत रहेकाले यो विधेयक कानून बन्छ। अझ, गभर्नरले भिटो प्रहार गरे पनि अर्को संसद सत्रमा भिटो ओभराइड गर्ने संख्या डेमोक्रेटिक पार्टीसँग हुन्छ।
यो विधेयक कानुन बनेमा मेरिल्याण्ड राज्यमा दशै नेपालमा उत्पति भएको एक सांस्कृतिक चाडका रूपमा मान्य हुने छ। र, हरेक वर्ष अक्टोबर ५ मा मेरिल्याण्ड राज्यले आधिकारिक रूपमा ‘दशै डे’ मनाउँछ।
यो उपलव्धी नेपाल र नेपालीले अमेरिकामा सामुहिक रूपमा हासिल गरेको अहिलेसम्मकै मानक उपलव्धी हुनेछ। यसले अमेरिकाको नेपाली समुदायलाई ठूलो पहिचान मिल्नेछ जसको प्रत्यक्ष लाभ हाम्रो मातृभूमिलाई प्राप्त हुनेछ।
‘मैले यो विधेयकलाई आजको विन्दुसम्म ल्याइपुर्याउन मेरो पहिलो कार्यकालको चार वर्ष नै ठूलो विधायिकी कसरत गरेको छु। एकपटक मात्र हैन, पटक पटक प्रायस गरेको छु।’ भण्डारीले विज्ञप्तिमा भनेका छन् । ‘आप्रवासी त्यो पनि अत्यन्तै अल्पमतमा रेहको नेपालीको चाड दशैलाई सांस्कृतिक चाडका रूपमा प्रस्तुत गर्नु र त्यसलाई डेमोक्रेटिक र रिपब्लिकन दुबै पार्टीको समर्थनमा बाइपार्टिसन बिधेयक बनाएर यो रूपमा ल्याउनु सामान्य उपलव्धी हैन।’