कांग्रेस सिन्धुपाल्चोकमा जंगबहादुरको उदय, बंशलाललाई हराउदै भए सभापति
सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक राजनीतिमा जंगबहादुर तामाङको जवर्जस्त उदय भएको छ । अन्तिम अवस्थामा संस्थापन पक्षबाट सभापति उमेदवार बनेका जंगबहादुर अन्तत सफल भएका छन् ।
सभापति पदका लागि आइतवार भएको दोस्रो चरणको निर्वाचनमा जंगबहादुर तामाङले बंशलाल तामाङलाई मात्र ६४ मतले हराए ।
दोस्रो चरणमा खसेको कुल १७ सय ८७ मध्ये जंगबहादुरले ९ सय १२ मत पाए । बंशलाल ८ सय ४८ मतमा रोकिए ।
शनिबार पहिलो चरणको मतदानमा तीनजना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पहिलो र दोस्रो धेरै मत ल्याउनेबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो ।
दोस्रो चरणबाट बाहिरिएका डा. प्रेमध्वज लामाले वंशलाल तामाङलाई समर्थन गरेका थिए । सिन्धु कांग्रेसको सभापति हुनकै लागि प्राध्यापक पेशा छोडेका प्रेमध्वज शुरुमा संस्थापन पक्षबाट नै उमेदवार बन्ने भनिएको थियो ।
तर मोहन बहादुर बस्नेतले अन्तिम समयमा जंगबहादुरलाई संस्थापन पक्षको उमेदवार बनाएका थिए । दोस्रो चरणमा बंशलाललाई सहयोगको घोषणा गर्दै प्रेमध्वज कांग्रेस सिन्धुपाल्चोकलाई एकीकृत, वैचारिक र सुदृढ बाउने चुनौतीको सामना गर्न आफूले मोहनबहादुर बस्नेतको दादागिरी प्रवृत्तिको विरोध गर्दै वंशलाला तामाङलाई सहयोग गरेको बताएका थिए ।
लामाले पार्टीमा विभेद, निषेध र गैरराजनीतिक संस्कृतिको अन्त्य गर्नु आजको आवश्यकता भएको बताएका थिए । पार्टीभित्रको व्यक्तिवादी प्रवृत्ति अन्त्य गर्दै सामूहिक नेतृत्व विकास गर्न एकतावद्ध भएर लाग्न सबै प्रतिनिधिलाई उनले अनुरोधसमेत गरेका थिए ।
तर प्रेमध्वजको अनुरोध मतदाताले सुनेनन । पहिलो चरणको निर्वाचन जंगबहादुरले सात सय पाँच मत प्राप्त गरे । कोइराला पक्षका वंशलाल तामाङले ६ सय २९ र संस्थापन पक्षकै डा.प्रेमध्वज लामाले चार सय ९३ मत ल्याएका थिए । ४० मत बदर भएको थियाे ।