एनआरएनए निर्वाचन : ४० जनाले गरे मनोनयन दर्ता
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को आगामी कार्यकालको निर्वाचनका लागि अहिले सम्म ४० जनाले मनोनयन दर्ता गरेका छन् । कुनै परिवर्तन नभएमा मार्च २४ र २५ मा निर्वाचन गर्ने तयारी छ ।
निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष डा. बद्री केसी (रुस) र रविना थापा (अमेरिका) ले उम्मेदवारी दर्ता गराएका छन् ।
अहिले सम्मको तालिका अनुसार मनोनयन दर्ता नेपाली समय अनुसार शुक्रवार साँझ ५ बजे सम्म छ । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्य समुह भने अझै निर्वाचन प्रक्रियामा सहभागि हुन इन्कार गर्दै आएको छ ।
सहमतिका लागि पटक पटक वार्ता भए पनि कुनै निश्कर्षमा पुग्न सकेको छैन ।
हाल सम्म उम्मेदवारी दर्ता गर्नेमा चार उपाध्यक्षको लागि अष्ट्रेलियाबाट धर्मराज अधिकारी, बेलायतबाट डा हेमराज शर्मा, जयप्रकाश गुरुङ, ओमनबाट डिबी क्षेत्री लगायत छन् ।
एक महिला उपाध्यक्षमा साउदी अरबबाट यासमिन बेगम सैयदले उम्मेदवारी दिएकी छिन्। यस्तै अफ्रिकाबाट रोशन थापाले युवा उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी एक महासचिवमा अमेरिकाबाट गौरीराज जोशी र बेलायतबाट विनय अधिकारीले उम्मेदवारी दिएका छन् । दुई सचिवमा अमेरिकाबाट शंकर खड्का, बेलायतबाट रामशरण सिम्खडा, जापानबाट ओम गुरुङ, क्यानाडाबाट चिरनजीवी घिमिरेले उम्मेदवारी दिएका छन् ।
महिला सचिवमा हङकङबाट राधिका गुरुङले उम्मेदवारी दर्ता गराएकी छिन् । महिला सहकोषाध्यक्षमा अमेरिकाबाट युमना भट्टराईले उम्मेदवारी दर्ता गराएकी छिन् ।
युवा संयोजकमा डेनमार्कबाट रवीन्द्र खड्काले उम्मेदवारी दिएका छन् । महिला संयोजककमा बेलायतबाट संगिता मरहठ्ठाले उम्मेदवारी दर्ता गराएकी छिन् ।
युरोप क्षेत्रीय संयोजकमा जर्मनीबाट सन्तोष भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । ओसिनिया क्षेत्रीय संयोजकमा भने अष्ट्रेलियाबाट दिनेशराज जोशी र न्यूजील्याण्डबाट लाल केसीले उम्मेदवारी दर्ता गराएका छन् । मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदीबाट राजेन्द्र अर्याल (जोन) को उम्मेदवारी परेको छ ।
एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा जापानबाट पारसमणि पोखरेलले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । एसिया प्यासिफिक महिला संयोजकमा मकाउबाट शान्तिदेवी अधिकारीले उम्मेदवारी दिएकी छिन् ।
युरोप क्षेत्रीय उपसंयोजक पदका लागि जर्मनीबाट नवराज रोसायर र बेलायतबाट ललित न्यौपाने र सागर सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् । एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा जापानबाट दलिवल खड्का र चीनबाट नवीन विकले उम्मेदवारी दिएका छन् । संघको नयाँ नेतृत्वको लागि अनलाइन मार्फत निर्वाचन गराउने जिम्मा अष्ट्रेलियन कम्पनीले जिम्मा लिएको छ ।