एनआरएनएमा दुबै पक्ष अलग अलग निर्वाचनको तयारीमा,शेष घलेले पनि निर्वाचन प्रक्रिया घोषणा गर्ने ?
अमेरिका । अबको एकाध घण्टामा चमत्कारिक परिवर्तन भएन भने गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी)मा एकै समयमा दुई निर्वाचन हुने भएको छ ।
संस्थापन पक्षले उमेदवारी मनोनयनका लागि थप गरेको समय सकिन अब केही घण्टा बाँकी छ । तर सहमतिको लागि वार्तामा जुटेका दुबै पक्ष आआफ्नो अडानमा यथावत छन् ।
दुबै पक्षलाई सहमतिमा ल्याएर एकताको निर्वाचन गराउने अभ्यासमा लागेका एनआरएनएका उपाध्यक्ष महेश श्रेष्ठले अब वार्ताको संम्भावना लगभग टरेको प्रतिक्रिया दिएका छन् ।
सहमतिको प्रयास अब सकियोकि बाँकी छ भन्ने समाज टाइम्सको प्रश्नको छोटो उत्तर दिदै श्रेष्ठले भने “एक प्रतिशत बाँकी छ ।” त्यो एक प्रतिशत के के सर्तमा छ भने उनले खुलाउन चाहेनन् ।
पदिय भागबण्डामा दुबै पक्ष सहमत भए पनि कुन विधिद्वारा अगाडि जाने भन्नेमा एकमत हुन नसकेको जनाइएको छ । संस्थापन पक्षले झुक्काउन वार्ताको नाटक गरेको भन्दै अर्को पक्षले पनि अब छुट्टै निर्वाचन प्रक्रिया शुरु गर्न लागेको जनाइएको छ ।
“अबको केही घण्टा कुर्नुस प्रमुख संरक्षकको तर्फबाट आधिकारिक विज्ञप्ति नै आउछ ।” आइसीसीका एक पदाधिकारीले समाज टाइम्स सँग भने । ति पदाधिकारीका अनुसार संस्थापन पक्षले शुरु गरेको निर्वाचन प्रक्रिया बहिस्कार गर्दै आएको पक्ष प्रमुख संरक्षक शेष घलेले गराउने निर्वाचनमा भाग लिने भएको छ ।
अघिल्लो हप्ता मात्र विभिन्न ४५ राष्ट्रिय समन्वय परिषद्को भेलाले प्रमुख संरक्षक शेष घलेलाई निर्वाचन प्रक्रिया अगाडि बढाउन दिएको म्याण्डेट अनुसार नै अगाडि बढ्ने निर्कर्षमा कुल आचार्य समुह पुगेको बताइएको छ ।
यद्यपी आइसीसीको बैठकले घले संयोजक रहेको उच्च स्तरिय समिति खारेज गर्दै घलेलाई प्रमुख संरक्षकबाट हटाएको भनेको छ । तर संस्थापन इतर समुहले सो बैठकको औपचारिकतामा नै प्रश्न उठाएको छ ।
यसै बीच संस्थापन पक्षले शुरु गरेको निर्वाचन प्रक्रियामा हाल सम्म ४० जनाले मनोनयन दर्ता गरेका छन् ।