एनआरएनए निर्वाचन : ‘डमी उमेदवारको’ आरोप खेपेकी रविना थापाले गरिन मनोनयन दर्ता
अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को नयाँ अध्यक्षका लागि वर्तमान उपाध्यक्ष रविना थापाले उम्मेदवारी दर्ता गराएकी छन् ।
१०औं महाधिवेशनमा अध्यक्ष पदका लागि सोमवार नै फारम लिएको फोटो सार्वजनिक गरेकी रविनाले मंगलबार संघको केन्द्रीय कार्यालय बालुवाटारमा पुगेर निर्वाचन समितिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
पछिल्लो समय निकै विवादमा रुमल्लिएको एनआरएनएको नयाँ अध्यक्षका लागि तीन जनाले दावी गर्दै आएका छन् । अर्का वर्तमान उपाध्यक्ष डाक्टर बद्री केसी र सल्लाहाकार कुल आचार्यले पनि अध्यक्षका उमेदवारी घोषणा गरेका छन् ।
तर प्रतिनिधि सम्वन्धी विवादका कारण यो निर्वाचनमा कुल आचार्य समुहले भाग लिने नलिने टुङ्गो छैन । ‘यथास्थितिमा हुने निर्वाचनमा हाम्रो सहभागिता रहदैन’ कुल आचार्यले समाज टाइम्स सँग भने । विधान विपरित छनौट गरिएका प्रतिनिधि सच्चाउनु पर्ने आचार्यको माग छ । बन्द्री केसी समुहले अहिलेको प्रतिनिधि नामावलिलाई विधान अनुसार नै भन्दै आएको छ ।
‘बद्री केसीलाई जिताउन एनआरएनए संस्थापन पक्षले प्रतिनिधि छनौटमा विधान विपरित आफुखुसी गरेको’ भन्ने आचार्य समुहको आरोपलाई संस्थापन पक्षले अस्वीकार गर्दै आएको छ ।
प्रतिनिधि विवादको छिनोफानो गर्न एनआरएनएका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा उच्चस्तरिय समिति गठन गरिएको थियो । तर समितिले अन्तिम निश्कर्ष दिनु अगाडि नै संस्थापन पक्षले निर्वाचन कार्यक्रम अगाडि बढाएको हो ।
कुल आचार्य समुहले रवीनालाई बद्री केसी समुहको ‘डमी उमेदवार’ को आरोप लगाउने गरेको छ । अध्यक्षमा दावी गरेका तीन जना मध्ये बद्री केसी नेकपा एमाले निकट हुन । कुल आचार्य र रवीना थापा कांग्रेस निकट हुन् ।
‘कुल समुहले निर्वाचन बहिस्कार गरे कांग्रेसको सहभागिता देखाउने र यदी कुल समुह चुनावमा आयो भने पनि कांग्रेसकै भोट काट्दै बद्री विजयी हुने बातावरण बनाउने रणनीतिमा यो उमेदवारी आएको हो ।’ कुल आचार्य समुहका एक सदस्यले भने ।
विदेशमा रहेका कांग्रेस समर्थकहरु दुई समुहमा विभाजित हुँदै आएका छन् । एक समुहले अर्कोको समुहको अस्थित्व अस्वीकार गर्ने, यदी आफु आउन नसके भए अर्को समुहलाई पनि आउन नदिने रणनितिमा दुबै समुह रहदै आएका छन् ।
सोही रणनीति अनुसार कुल आचार्यलाई रोक्न र बद्री समुहलाई सजिलो बनाउन कांग्रेसकै एक समुहले रविनालाई उक्साएको आरोप लाग्दै आएको छ । तर डमी उमेदवारको आरोपलाई रविनाले अस्वीकार गरिन ।
‘त्यो जसले भनेको हो उसैलाई सोध्नुस मलाई के थाहा हुन्छ ।’ बार्गेनिङ्गको लागि तपाईले उमेदवारी दिएको भन्ने आरोप छ नी भन्ने समाज टाइम्सको प्रश्नमा रविनाले प्रतिपश्न गरिन । ‘ अमेरिका सबै भन्दा धेरै सदस्य भएको देश हो, त्यहाँबाट पहिलो पटक अध्यक्षमा उमेदवारी दिनु त रेकर्ड नै हो नी कसरी बार्गेनिङ्ग हुन्छ ?’
‘संस्था भनेको अभियान हो जितेर त्यहाँ गएर पनि केही तलव पाउने होइन, गैर आवासीय नेपालीहरुको हक र अधिकारका लागि काम गरौ भन्ने हो । म के आह्वान गर्छु भने सबै आउनु पर्छ, आफ्नो उमेदवारी दिनु पर्छ, जित्ने हार्ने भइहाल्छ, जिते काम गर्ने हारे पनि एनआरएनबाट बाहिर हुन सकिदैन संस्थामा नै काम गर्ने हो ।’ रविनाले भनिन् ।
बद्री केसी समुहको चुनावी क्याम्पियनमा होमिएका केही कांग्रेस निकट व्यक्तिले सामाजिक सञ्जालमा रविनाको प्रचार गर्ने गरेका छन् । आन्तरिक बैठकमा बद्री समुहमा रणनिति बनाउने तर बाहिर रविना जिताउ भन्दै पोस्टर टास्ने पनि देखिएका छन् । तर त्यो बारेमा आफुलाई कुनै जानकारी नभएको रविनाले बताइन ।
‘मलाई जसले पनि सपोट गर्न सक्छन, संस्था भित्र काम गर्ने साथिहरु बीचको केही कुरा हुन सक्छ । मलाई मात्र होइन उता पनि त्यही कुरा गरिरहेको हुन सक्छ । त्यसमा म टिका टिप्पणी गर्न चाहान्न । मलाई सबैको सहयोग छ ।’ रविनाले भनिन ।
तपाई नेपाली कांग्रेस निकट हुनुहुन्छ, काठमाडौंमा अहिले कांग्रेसका नेताहरु बीच एनआरएनएमा पार्टीबाट मिलेर जानु पर्छ भनेर छलफल हुदै छ भन्ने बाहिर आएको छ त्यस्तो भयो भने के गर्नु हुन्छ भन्ने समाज टाइम्सको प्रश्नमा रविनाले भनिन्,’ त्यो त समयले नै बताउछ, मैले आजको कुरा गर्न सक्छु भोलीको कुरा थाहा छैन ।’
स्रोतका अनुसार रविनाले नेपाली कांग्रेसले आफुलाई अन्य कुनै विषेश जिम्मेवारी दिने निश्चितको माग गरेकी छिन । तर रविनाले त्यसलाई अस्वीकार गरिन । ‘मलाई प्रस्ताव आएको हो तर मैले माग गरेको भने होइन ।’