रुस र युक्रेन बीचको वार्ता असफल, रुसमाथि घातक भ्याकुम बम प्रहारको आरोप
किभ । युक्रेन संकटलाई लिएर युक्रेन र रुसी अधिकारीहरुबीच सम्पन्न पहिलो चरणको वार्ता सकिएको छ । युक्रेन र बेलारुसको सीमामा भएको सो वार्ताले खासै नतिजा नल्याएको प्राप्त विवरणहरुमा जनाइएको छ ।
थप परामर्श गरेर फेरि दोस्रो चरणको वार्ता गर्ने सहमति भएको थियो । वार्तामा युक्रेनले युद्धविरामको प्रस्ताव गरेको र रुसले त्यसलाई ठाडै अस्वीकार गरेको बताइएको छ । दोस्रो चरणको वार्ता अघि दुबै देशका अधिकाहरुी थप छलफलका लागि सम्बन्धित देशको राजधानी फर्किएको युक्रेनी राष्ट्रपतिका सल्लाहकारले जनाएका छन् ।
तत्काल युद्धविराम गर्न र रुसी फौजलाई फिर्ता गर्ने विषयमा छलफल गर्ने उदेश्यसहित दुई पक्षबीच वार्ता भएको थियो ।
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
युक्रेन द्धन्द्व तीव्र भइरहेका बेला रुसी सेनाले युक्रेनीमाथि बिस्फोटक पदार्थ र भ्याकुम बमले हमला गरेको मानव अधिकारवादी समूह र राष्ट्रसंघका लागि युक्रेनी दूतले आरोप लगाएका छन् ।
रुसी सेनाले प्रतिबन्धित क्लस्टर प्रयोग गरेको एमनेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाचले जनाएको छ ।
अमेरिकी संसदका सदस्यहरुसँग भेट गरेपछि राष्ट्रसंघका लागि युक्रेनका दूत ओकसान मार्कारोभाले रुसले घातक भ्याकुम बम प्रयोग गरेको दाबी गरेका छन् ।
‘उनीहरुले आज भ्याकुम बम प्रयोग गरे । रुसले युक्रेनमा ल्याउन खोजेको विनाश ठूलो छ,’ उनले भने । थर्मोव्यारिक हतियारसमेत भनिने यस बमले वरपरको वातावरणको अक्सिजन चुस्छ र उच्च तापक्रममा बिस्फोट हुन्छ ।
परम्परागत बिस्फोटक पर्दाथको तुलनामा यसले लामो अवधिको ब्लास्ट वेभ उत्पन्न गर्छ र मानव शरीर वास्पिकरण गर्न सक्छ ।