बाना निर्वाचन : अध्यक्षमा सुबोध पन्त र हिरा गुरुङको भिडन्त, महासचिवमा सागर घिमिरे र उदय भट्टराई
अमेरिका । बाल्टिमोर एसोसिएसन अफ नेपाली इन अमेरिका (बाना) को नयाँ कार्यसमितिको अध्यक्षमा दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।
मनोनयनको दिन आइतवार अध्यक्ष पदमा सुबोध बिलास पन्त र हिरालाल गुरुङले उमेदवारी दिएका छन् । सुबोध वर्तमान कार्यसमितिका अध्यक्ष र हिरा बरिष्ठ उपाध्यक्ष हुन ।
अघिल्लो पटक एकै टिमबाट चुनावी मैदानमा उत्रिएका दुई छिमेकी जिल्लाका सुबोध र हिरा यस पटक एक अर्काका प्रतिस्पर्धी भएका हुन् । सुबोध लमजुङ र हिरा गोर्खाका हुन ।
दुबै जना प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन् । सुबोधले बरिष्ठ उपाध्यक्षमा अनिल गोदारलाई लिएका छन् । हिराको टिमबाट बरिष्ठ उपाध्यक्षमा लक्ष्मी भारती छिन् । भीम केसी उपाध्यक्षमा निर्विरोध भएका छन् यद्यपी उनलाई दुबै पक्षले आफ्नो प्यानलको दावी गरेका छन् ।
महासचिवमा सुबोध टिमबाट सागर घिमिरे उमेदवार हुन् उनलाई हिरा टिमका उदय बहादुर भट्टराईले चुनौति दिदै छन् ।
सचिवमा हिराबहादुर खत्री निर्विरोध भएका छन् । उनको नाम पनि दुबै प्यानलमा छ । कोषाध्यक्ष महेशकुमार खड्का र पार्वती सिंह आमन्ने सामन्ने भएका छन् । पार्वती सुबोध टिमबाट हुन् ।
८ जना सदस्यका लागि १३ जनाको मनोनयन परेको छ ।
सुशन मानन्धर, तुलसीराम तिवारी (शिशिर), सन्तोष घिमिरे,श्यामकुमार कोइराला,ईशा गुरुङ,प्रेमबहादुर कमली,यमुना घिमिरे,राजु रामदम,सरु विश्वकर्मा,उमाकान्त शर्मा (रमेश),बसन्त बस्नेत,भूपेन्द्र गुरुङ र खिम मश्रांगीले सदस्यमा उमेदवारी दिएका छन् ।
निर्वाचन अप्रिल तीन तारिकमा
झण्डै २३ सय सदस्य रहेको संस्थाको निर्वाचन अप्रिल ३ तारिकमा हुने छ । ‘थकान रहित निरन्तरता : संस्थामा हाम्रो प्रतिबद्धता’ भन्ने नारा सुबोध टिमले बनाएको छ । हिरा टिमले ‘पारदर्सि ,समाबेशी, सामाजिक सदभाब र मेलमिलाप सहित को बाना हामी सबैको चाहना’ भन्ने नारा बोकेको छ ।
आफ्नो केही योजना अधुरा रहेकाले पुन अर्को एक कार्यकाल निरन्तरता चाहेको सुबोधले समाज टाइम्स सँगको कुराकानीमा बताए । ‘मेरो कार्यकाल कोरोनाले प्रभावित भयो, यो बीचमा राहतका कार्यक्रम त धेरै भए तर पूर्वनिर्धरित योजना पुरा हुन पाएन, ति अधुरा योजना सम्पन्न गर्न मैले फेरि दोहोर्याउन चाहेको हुँ ।’
पन्तले बानाको भवनको ऋण मुक्त गर्ने, स्थानीय अस्पतालमा नेपालीलाई निशुल्क स्वास्थ उपचारको व्यवस्था गर्ने र सिटीबाट विभिन्न फण्ड ल्याउने काम बाँकी नै रहेको बताए ।
अध्यक्षका अर्का प्रत्यासी हिरालाल भने सम्पर्कमा आउन चाहेनन् ।
बाना अमेरिकामा क्रियाशिल नेपालीहरुको संस्थामा सक्रिय मध्ये पर्दछ । विषेशत नेपाली समुदायलाई संकट पर्दा बाना अग्रसर हुने गर्दै आएको छ ।