जनसम्पर्क समितिको निर्वाचन र विश्व सञ्जाल बारे पार्टीमा कुरा उठाउछु : शेखर कोइराला
अमेरिका । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली जनसम्पर्क समितिको अवरुद्ध निर्वाचन गराउने बारेमा पार्टीमा कुराकानी गर्ने बताएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन पश्चात पार्टीको अवस्था र प्रवासमा रहेका नेता एवं कार्यकर्ताहरुको भूमिका विषयमा शनिवार भएको भर्चुअल छलफलमा कोइरालाले भने, ‘धेरै देशहरुमा अधिवेशन भएको छैन, म भोलि-पर्सिनै उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाजी सँग कुरा गर्छु, जनसम्पर्क समितिको अधिवेशन छिटो गर्नुपर्छ ।’
छलफलमा सहभागिहरुले जनसम्पर्क समितिमा नियमित अधिवेशन नभएको, महाधिवेशन प्रतिनिधि छनौटमा विधान मिचिएको,पैसाको चलखेल भएको जस्ता गम्भिर विषय उठाएका थिए । जनसम्पर्क समिति अमेरिकाको अधिवेशन आठ बर्ष देखि हुन नसकेको, जापाना, बेलायतमा पनि समस्या रहेको बताइएको थियो ।
नेता कोइरालाले जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि छनौटका क्रममा पैसाको चलखेल भएको भन्ने सुनेर आफूलाई दुख लागेको बताए । ‘मलाई केही कुरा विचित्र पनि लाग्यो आज जनसम्पर्क समितिका साथिहरुले पैसा लिएको कुरा पनि आयो यसले मेरो मन खल्लो पारिदियो ।’
उनले अब जनसम्पर्क समिति कसरी चलाउने भन्नेमा बहस हुनु पर्नेमा जोड दिए । ‘जनसम्पर्क समिति केको लागि यसमा अब बहस गर्नुपर्छ, शुवेच्छुक संस्थाको रुपमा लैजाने हो या भातृ संस्था भन्नेमा ।’ कोइरालाले भने ‘जनसम्पर्क समिति यो पाँच बर्षमा जे जस्तो भयो-भयो अब राम्रो बनाउनु पर्छ, विदेशको नागरिकता लिएकालाई कसरी समेट्ने भन्ने पनि सम्वोधन गर्नु पर्छ ।’
नेता कोइरालाले विश्व सञ्जालको अवधारणा राम्रो रहेको बताए । ‘विश्व सञ्जाललाई अगाडि बढाउने हो भने तपाईहरु आफ्नै बीचमा पहिला छलफल गर्नुस, त्यसपछि हाम्रा उपसभापति, महान्त्री, सहमहामन्त्री सँग पनि जुममा बसौ, छलफल गरेर अगाडि बढ्न सक्छौ ।’
जनसम्पर्क समिति अमेरिका पूर्व संयोजक बिष्णु सेवदी समुहले केही वर्ष अगाडि देखि विदेशमा रहेका कांग्रेस समर्थकहरुलाई एउटै संस्थामा संगठित गर्ने गरि विश्व सञ्जालको अवधारणा ल्याएको हो । तर पार्टीले यसलाई मान्यता दिएको छैन ।
शनिवारको छलफलमा कोइरालाले भने ‘विश्व सञ्जाललाई कसरी अगाडि बढाउन सकिन्छ, नेपाली कांग्रेसमा कसरी आवद्ध गराउन सकिन्छ त्यसमा तपाईहरु पहिला बसेर छलफल गर्नुस त्यस पछि म लगायत हामी पदाधिकारी बसेर अगाडि बढ्दा राम्रो हुन्छ ।’
कोइरालाले विश्व सञ्जाल महत्वपूर्ण रहेको बताए । ‘यो चाहिन्छ, पहिला पनि चाहिन्छ भन्ने हो, मलाई लाग्छ पार्टीका लागि विश्व सञ्जाल महत्वपूर्ण सयन्त्र हुन्छ।’
दुई घण्टा भन्दा बढी समय कार्यकर्ताको भनाई सुनेका कोइरालाले गैर आवासीय नेपाली संघ एनआरएनएको निर्वाचनमा कांग्रेस समर्थकहरु एक हुनु पर्नेमा जोड दिए । ‘यस पटक एनआरएनएमा हामीले जित्नै पर्छ, यो पटक जितेनौ भने कहिल्यै जित्दैनौ, यो सिरियस कुरा हो ।’
छलफलमा जापानका धर्मराज अधिकारीले ठेकेदारलाई पैसा तिराएको, नक्कली क्रियाशिल सदस्य बनाएर कांग्रेस महाधिवेशनमा जनसम्पर्क समितिबाट प्रतिनिधि लगिएको आरोप लगाए ।
नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री डाक्टर यादव पण्डितले पनि जनसम्पर्क समितिको अधिवेशनको प्रकृयाको आलोचना गरे । यद्पी उनी आफै पनि अमेरिकाबाट यस पटक प्रतिनिधिमा छनौट भएका थिए । ‘अधिवेशनको प्रोसेस लाजमर्दो भयो, जुन रुपमा अधिवेशन भयो त्यही रुपमा हुने हो भने जनसम्पर्क समितिको काम छैन, बन्द गरिदिनु पर्छ ।’
छलफलमा एनआरएनए अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीले एनआरएनमा जनसम्पर्क तीन खेमामा बाढिएको बताएका थिए । उनले केही झुण्डले आफु मात्र कांग्रेस भनेर अगाडि बढे दुर्धटना हुने चेतावानी दिए ।’
एनआरएनए अभियान्ता कृष्ण लामिछानेले आफुलाई चित्त नबुझेकालाई कम्युनिष्टको ट्याग लगाउने गरिएको बताए । ‘कांग्रेसको नाम बेचेर साथीहरुलाई पाखा लगाउने प्रयास भएको छ,आफुलाई मन पर्दा माओवादीलाई च्याप्ने र पैसामा एनआरएनए किन्ने क्रम बन्द हुनु पर्छ ।’लामिछानेले भने ।
कार्यक्रम सञ्चालक मध्येका एक प्रमोद सिटौलाले प्रवासमा रहेका नेपालीलाई पार्टीलाई सहयोग गर्ने वातावरण वनाउन आग्रह गरे । छलफलको सभापतित्व गरेका बिष्णु सुवेदीले सबैलाई समेटेर विश्व सञ्जालको विस्तार गरिने बताए ।
एमसीसीका कारण नेपाल, ‘चीन र अमेरिकाको क्रिडास्थल बन्ने खतरा देखियो’ : शेखर कोइराला