न्यूयोर्क सबवे स्टेशन सुरक्षामा नयाँ नीति,घरबारविहिनलाई हटाइने, ट्रेन यात्रा सुरक्षित बनाउन थप पुलिस खटाइने

अमेरिका । न्यूयोर्क शहरको प्रमुख सार्वजिक यातायात सेवा सबवे यात्रा असुरक्षित बन्दै गएको भन्दै आलोचना हुन थाले पछि स्थानीय सरकारले सुधारका कमद चाल्ने घोषणा गरेको छ ।
न्यूयोर्कका गभर्नर क्याथी होचुल र मेयर एरिक एडम्सले शुक्रवार सबवे सुरक्षाको अवधारणा सार्वजनिक गरेका हुन् ।
उनीहरुले स्टेशनमा घरबारबिहिनलाई (होमलेस) रोकिने जनाएका छन् । शहरबासीलाई सुरक्षित महशुस गराउन ट्रेनमा आश्रय लिदै आएका घरबारविहीनलाई हटाउन कडाइ गरिने र त्यसका लागि थप प्रहरी परिचालन गरिने छ ।
भूमिगत स्टेसनमा आश्रय लिदै आएका घरवारबिहिनहरुलाई मानसिक-स्वास्थ्य सेवा र अन्य आवासका विकल्प प्रदान गरिने वाचा पनि उनीहरुले गरेका छन् ।
नयाँ नीतिमा न्यूयोर्क शहरको सबवेमा पुलिस अधिकारी र सामाजिक कार्यकर्ताहरूको तालिम प्राप्त टोली व्यापक रुपमा परिचालन गरिने छ । रेल र प्लेटफर्ममा घरबारविहीन मानिसहरूको आश्रयले हिंसा बढाएको भन्दै यस्तो योजना सार्वजनिक गरिएको हो ।

ट्रेन यात्रा गर्दा एकभन्दा बढी सिट ओगट्ने, फोहोर फाल्ने र अन्य यात्रुहरूप्रति आक्रामक हुनेलाई कडा कारवाही गरिने छ । यस्तै लागूपदार्थको प्रयोग र यातायात बाहेक कुनै पनि उद्देश्यका लागि सबवे प्रणाली प्रयोग गर्नेहरुलाई पनि कारवाही गरिने छ ।
न्यूयोर्क ट्रेन यात्रा सुरक्षित छ भन्ने अनुभुति हुने गरि काम गरिने अधिकारिहरुले वाचा गरेका छन् । नयाँ सुरक्षा नीतिमा सबवेमा भेटिएका मानसिक स्वास्थ समस्या भएका वा अरुलाई खतरा पुर्याउने ठानिएका व्यक्तिलाई नियन्त्रण गरि अस्पताल भर्ना गर्नका लागि छुट्टै टोलिको व्यवस्था गरिने छ ।

मेयर एडम्सले ब्रुक्लिनको फुल्टन स्ट्रिट सबवे स्टेशनमा शुक्रवारको पत्रकार सम्मेलनमा बोल्दै अब सबवेको सुरक्षामा चिन्ता गर्नु नपर्ने दावी गरे ।
“तपाईले क्यान्सरको घाउमा ब्यान्ड-एड लगाएर राख्न सक्नुहुन्न, निको हुने प्रक्रिया सुरु गर्न तपाईंले क्यान्सर हटाउनै पर्छ । अब समस्याको समाधान गर्नै पर्छ” न्यूयोर्क प्रहरिका पूर्व अफिसर समेत रहेका मेयर एडम्सले भने ।
“ती दिनहरू सकियो, तपाईंको मेट्रोकार्ड स्वाइप गर्नुहोस्, सिस्टममा बसेर यात्रा गर्नुहोस्, तपाईंको गन्तव्यमा जानुहोस् यो प्रशासनले भनेको यही हो।”
मेयर एडम्सले स्वास्थ्य विभाग, घरबारविहीन सेवा विभाग, न्युयोर्क पुलिस र सामुदायिक समूहका कर्मचारीहरूको “संयुक्त उद्दार टोली ” खटिने बताए ।
न्यूयोर्क सबवे स्टेशनमा एक पछि अर्को अपराधिक घटना बढ्न थाले पछि गभर्नर र मेयर दुबैले संयुक्तरुपमा नयाँ नीति सार्वजनिक गरेका हुन् । न्यूयोर्क सबवे स्टेशनमा ठूला अपराध बढ्दै गएका छन् । हत्या, बलात्कार र जघन्य अपराधका घटना सार्वजनिक हुदै आएका छन् ।
न्यूयोर्क ट्रेन र स्टेशनमा थुप्रै घरवारबिहिन भेटिन्छ । कतिपय स्टेशनका प्लेटफर्म र ट्रेनकै सिटमा सुत्ने पनि गर्दछन ।

गत जनवरीमा टाइम्स स्क्वायर सबवे स्टेशनमा एक अपचिरित व्यक्तिले एक एशियाली महिलालाई ट्रेनको ट्रयाकमा धकेलि दिएका थिए । जसको कारण ४० वर्षीया महिलाले ज्यान गुमाउनु परेको थियो । ति अपचिरित व्यक्ति घरबारविहिन थिए । सो घटना पनि नव निर्वाचित मेयर सबवे स्टेशनको सुरक्षाका लागि दवाबमा थिए ।
न्यूयोर्क धेरै नेपाली बस्ने शहर मध्येको एक हो । न्यूयोर्कमा प्रायजसोले धेरैले यातायातका लागि सार्वजनिकै बस वा ट्रेन प्रयोग गर्छन । न्यूयोर्कको सार्वजनिक यातायात २४ घण्टा नै सन्चालन हुन्छ । जमिनमुनिबाट चल्ने ट्रेन न्यूयोर्कको विषेशता हो ।
फोटो : मेयरको ट्वीटरबाट