एनआरएनए निर्वाचन समितिद्वारा प्रतिनिधिको नाम प्रकाशन : ‘केटाकेटीको खेल भयो’ कुल आचार्य

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) द्वारा गठित निर्वाचन समितिले आसन्न निर्वाचनका लागि भन्दै बिहिवार प्रतिनिधिको नाम सार्वजनिक गरेको छ ।
प्रतिनिधि विवादकै कारण गत अक्टुवरमा हुनु पर्ने निर्वाचन अझै अवरुद्द छ । सोही विवाद मिलाउन आइसीसीद्वारा गठित उच्च स्तरिय समिति छलफलमै छ ।बिहिवार चार घण्टा चलेको शेष घले नेतृत्वको उच्च स्तरीय समितिको बैठक बिना निश्कर्ष आइतवार पुन बस्ने गरि टुङ्गिएको जनाइएको छ ।
एकातिर प्रतिनिधि विवाद सल्टाउन उच्च स्तरिय समिति बैठकमा रहदा निर्वाचन समितिले तीन हजार ६ सय ३४ जनाको नाम सार्वनिक गरेको छ । जुन घटनालाई संस्थापन इतर समुहले ‘केटाकेटीको खेल’ भनेर टिप्पणी गरेको छ ।
एनआरएनए आइसीसीका सल्लाहाकार तथा अध्यक्षका उमेदवार कुल आचार्यले निर्वाचन समितिले नगर्नु पर्ने काम गरेको प्रतिक्रिया दिएका छन् ।
‘जुन समितिमा आइसीसीका अध्यक्ष, संस्थापक अध्यक्ष, प्रमुख संरक्षक र पूर्व अध्यक्ष छन्, त्यो उच्चस्तरिय समितिले काम गरिरहेको छ, अनि जुन विवादको कारण पटक पटक निर्वाचन सर्दै आएको त्यो समस्या समाधान नभइ निर्वाचन तालिका प्रकाशन गर्ने, प्रतिनिधिको नामावलि प्रकाशन गर्नु केटाकेटीको खेल हो ।’ समाज टाइम्स सँगको कुराकानीमा आचार्यले भने ।
आचार्यले यस्तो गतिविधिले संस्थालाई झन् कमजोर बनाउने बताए । ‘उच्चस्तरिय समितिले काम गरिरहेको बेला समस्या समाधान नगरि नाम प्रकाशित गर्नु संसारलाई भ्रममा राख्ने काम हो, पटक पटक यस्तो गरिनु परिपक्क काम भएन,यस्तो हुनहुदैन थियो, यसरी नाम प्रकासन गरिएको सातौ पटक हो,यत्रो ठूलो संस्थामा,जुन प्रकारले काम भइरहेको छ यसले संस्था कमजोर बनाउछ ।’
आचार्यले प्रतिनिधि छनौट विधान भन्दा बाहिरबाट हुन नहुने बताए । ‘हाम्रो अडान एनसीसीले पठाएको डेलिगेटलाई मान्नु पर्छ र समस्या भएको ठाँउमा उनीहरुलाई नै मिलाएर पठाउ भन्नु पर्छ भन्ने हो ।’
आचार्यले भने,’डेलिगेट हामीले सहमति गर्ने होइन,राष्ट्रिय संघले नै विधान अनुसार पठाउनु पर्छ, तर त्यस विपरित आफै डेलिगेट चयन गरौं र आफै चुनाव गरौं भन्ने कुरा त्यो कतै पनि नमिल्ने कुरा हो ।’
आचार्यले अहिले प्रकाशित प्रतिनिधिको आधारमा हुने निर्वाचनमा आफुहरुले भाग नलिने बताए । ‘हामी चुनावमा कुनै पनि समयमा जान तयार छौ । तर एनसीसीले चयन गरेको डेलिगेटका आधारमा चुनाव हुनु पर्छ । यहाँ त न नयाँ कमिटि न पुरानो कमिटीले दुबैले नपठाएका नाम पनि प्रकाशित गरिएको छ त्यो कसरी हुन्छ ? ‘
यस्तै कुल आचार्य टिमकै महासचिवका उमेदवार डाक्टर केशव पौडेलले संस्थापन पक्षले निर्वाचन गराउन भन्दा पनि अदालतलाई प्रभावित पार्नका लागि निर्वाचन तालिका सार्वजनीक गरिएको दावी गरे । ‘यो निर्वाचन गर्नका लागि भन्दा पनि भोलि हामीले त गर्न खोजेकै हो भनि भन्नका लागि मात्र चालिएको चाल हो ।’
डाक्टर पौडेलले निर्वाचन अपरिहार्य रहेको तर यथास्थितिमा सम्भव नहुने बताए ।’निर्वाचनको विकल्प छैन तर विवाद थाति राखेर चुनाव सम्भव छैन र त्यसको अर्थ पनि छैन ।’
उपाध्यक्ष सोनाम लामाको आपत्ति
आइसीसीका उपाध्यक्ष सोनाम लामाले पनि निर्वाचन तालिका र प्रतिनिधिको नाम सार्वजनिक गरिएको प्रति आपत्ति जनाएका छन् । समाज टाइम्स सँग कुरा गर्दै लामाले भने,’निर्वाचन तालिका त कुमार पन्तजीले हिजो पनि सार्वजनिक गर्नु भएकै हो नी उहाँ एक्लैले गरेर हुने भए त किन उच्चस्तरिय समिति बनाउनु पर्थो ?’
त्यसो त लामाले पनि उच्चस्तरिय सिमितलाई प्रतिनिधिको नाम बुझाएको जनाएका छन् । ‘एनआरएनए आइसीसीको म्यान्डेट प्राप्त उच्चस्तरीय समितिले जिम्मा दिए अनुरुप मैले संस्थाको विधान र नियमावली विपरित तोकिएको मिति भन्दा पछि बनाइएका सदस्यहरुबारे छानबिन गरी आफ्नो प्रतिवेदन उच्चस्तरीय समितिलाई बुझाएको छु।’ हाल नेपालमा रहेका लामाले समाजिक सञ्जालमा लेखेका छन् ।
‘राष्ट्रिय महाधिवेशन संचालन, अन्तर्राष्ट्रिय महाधिवेशन छनोट तथा राष्ट्रिय समन्वय परिषद्को सम्बन्धन सम्बन्धित नियमावली २०२१’ को उपदफा ४.२ बमोजिम सदस्य बनाइएको वा नबनाइएको भन्ने बारे हामीले छानबिन गर्यौं । छानबिनबाट अहिले दावी गरिए भन्दा फरक सदस्य संख्या मात्र भ्यालिड रहेको रहेको पाईएको छ ।’ लामाले बनेका छन् ।
लामाले उच्चस्तरिय समितिलाई बुझाएको र निर्वाचन समितिले सार्वनिक गरेको नाममा नौ सय भन्दा बढी प्रतिनिधिको नाम फरक परेको छ । ‘हामीले पाएको यथार्थ जस्ताको तस्तै उच्चस्तरीय समितिलाई बुझाएको छु, त्यो यथासमयमा सार्वजनिक हुने नै छ।’
लामाको प्रतिवेदन उच्चस्तरिय समितिको बैठकमा पेश भएको भए पनि समय अभावका कारण छलफल भने हुन नपाएको बैठकमा सहभागि एक सदस्यले समाज टाइम्सलाई बताए । उच्चस्तरिय समितिको चार घण्टा लामो बैठक जापान विवादमा नै केन्द्रित रहे पनि विना कुनै निश्कर्ष आइतवार बस्ने गरि टुङ्गिएको उनको भनाई छ ।