कम्युनिस्ट चरित्र बुझ्न कांग्रेस सभापतिलाई जनसम्पर्क समिति अमेरिकाको आग्रह
अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाली कांग्रेसका साभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कुटिल चालमा परेर अमेरिका सँगको सम्वन्ध नविगार्न आग्रह गरेको छ ।
समितिका सभापति सुभाष घिमिरे र महामन्त्री क्रान्ति अर्याल भण्डारीले बुधवार संयुक्त अपिल जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
‘नेपालको पुरानो मित्रराष्ट्र संयुक्त राज्य अमेरिकासॅंगको एमसीसी परियोजना सम्झौताको विषयमा मुलुकमा पछिल्लो समय विकसित भएको घटनाक्रमबाट नेपाली जनसम्पर्क समिति अमेरिका चिन्तित भएको छ ।’ अपिलमा भनिएको छ ।
यस्तै कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा रणनीतिकरुपमा असफल भएको आरोप समेत लगाइएको छ । ‘गठबन्धनको नाममा आफ्नो राजनैतिक साख जोगाउने दाउमा रहेका प्रचण्डको कुटिल चालको षड्यन्त्रमा फस्नु सभापतिज्यूको गंभीर रणनीतिक असफलता हो भन्ने हाम्रो ठहर छ ।’
अपिलमा कम्युनिष्टहरुको चरित्र बुझ्न, एमसीसी सहयोग अनुमोदन गर्न र अमेरिका सँगको सम्वन्ध सुमधुर राख्न कदम चाल्न पनि भनिएको छ ।
‘अतः गठबन्धनमा सामेल सत्तारूढ कम्युनिस्ट घटकहरूको कम्युनिस्ट चरित्रलाई बुझेर यथासक्य छिटो एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने व्यवस्था मिलाई मित्रराष्ट्र अमेरिकासंगको परम्परागत सुमधुर संबन्धलाई अक्षुण्ण राख्ने र थप उचाइमा पुऱ्याउने दिशामा अविलम्ब कदम चाल्नुहुन हार्दिक अनुरोध गर्दछौं ।’
नेपाली जनसम्पर्क समिति अमेरिकाको अपिलको पूर्णपाठ
प्रधानमन्त्री तथा पार्टी सभापतिज्यूको ध्यानाकर्षण
————————————————————
सम्माननीय प्रधानमन्त्री तथा पार्टी सभापतिज्यू,
नेपाली कांग्रेस
काठमाण्डौ, नेपाल
नेपालको पुरानो मित्रराष्ट्र संयुक्त राज्य अमेरिकासॅंगको एमसीसी परियोजना सम्झौताको विषयमा मुलुकमा पछिल्लो समय विकसित भएको घटनाक्रमबाट नेपाली जनसम्पर्क समिति अमेरिका चिन्तित भएको छ । एउटा असल मित्रराष्ट्रको विशुद्ध गैर-सैन्य परियोजनाको विषयलाई लिएर मुलुकमा देखापरेको जटिल परिस्थिति र यसले मुलुकको भविष्यलाई पार्न सक्ने संभावित दुरगामी असरले हामीलाई गंभीर बनाएको छ ।
आफू सत्तामा छॅंदा एमसीसीको पक्षमा रहेका र अहिले प्रतिपक्षमा रहॅंदा त्यसको विरोधको नाटक मन्चन गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी ओली हुन् वा एमसीसीको पक्षमा हस्ताक्षर गरिसकेर अहिले विभिन्न बहानाबाजी गरेर धोखाधडीमा उत्रिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हुन्, यी दुबै चिनिया कम्युनिस्ट सरकारद्वारा निर्देशित छन् भन्ने कुरा घाम जत्तिकै छर्लंग छ ।
गठबन्धनको नाममा आफ्नो राजनैतिक साख जोगाउने दाउमा रहेका प्रचण्डको कुटिल चालको षड्यन्त्रमा फस्नु सभापतिज्यूको गंभीर रणनीतिक असफलता हो भन्ने हाम्रो ठहर छ ।
अतः गठबन्धनमा सामेल सत्तारूढ कम्युनिस्ट घटकहरूको कम्युनिस्ट चरित्रलाई बुझेर यथासक्य छिटो एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने व्यवस्था मिलाई मित्रराष्ट्र अमेरिकासंगको परम्परागत सुमधुर संबन्धलाई अक्षुण्ण राख्ने र थप उचाइमा पुऱ्याउने दिशामा अविलम्ब कदम चाल्नुहुन हार्दिक अनुरोध गर्दछौं ।
जय नेपाल !
सुभाष घिमिरे क्रान्ति अर्याल भण्डारी
सभापति महामन्त्री
नेपाली जनसम्पर्क समिति अमेरिका
केन्द्रीय कार्यसमिति