स्थानीय तहको निर्वाचनमा तयारीमा जुट्न एमालेको निर्देशन
काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न आफ्नो नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । एमालेको बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति भएपछि बसेको एमालेको बैठकले निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको हो ।
बैठकले प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि गर्ने र जिल्ला अधिवेशनहरू निर्वाचनअघि नै गर्ने निर्णय गरेको छ । स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय भएको छ ।
पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका सुझावसहित पारित गरेको छ । बैठकले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन गरेको छ ।
एमालेले ७७ वटै जिल्ला कमिटीमा आइटी विज्ञ राख्ने
नेकपा एमालेले ७७ वटै जिल्ला कमिटीहरुमा आइटी विज्ञ नियुक्त गर्ने भएको छ । बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकलेआइटी विज्ञ नियुक्त गर्ने निर्णय हो । केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि हरेक जिल्लाका पार्टी कार्यालयमा आइटी विज्ञ राख्ने निर्णय भएको प्रचार विभाग प्रमुख एवम् पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।
‘केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि हरेक जिल्लाका पार्टी कार्यालयमा आइटी विज्ञ राख्ने निर्णय भएको छ’ उनले भने ।
फागुन र चैत महिनासम्म सदस्यता वितरण र नविकरण गर्ने निर्णय सचिवालय बैठकले गरेको छ । प्रदेश र जिल्लामा नविकरण र अद्यावधिक पनि गरिने उनले बताए । नियमावली अनुसार पार्टी सदस्यता शुल्क केन्द्रमा ४०, प्रदेशमा ३० जिल्ला २५ र पालिका १० प्रतिशत राख्ने निर्णय भएको उनले जानकारी दिए ।