अवैध रुपमा अमेरिका छिर्नेहरुको सीमानामा ताति, तीन दिनमा तीन हजार भन्दा बढी पक्राउ
टेक्सास । स्थलमार्ग हुदै अवैध रुपमा अमेरिका प्रवेस गर्ने प्रयासमा रहेका तीन हजार भन्दा बढी व्यक्तिहरुलाई अमेरिकी सीमा सुरक्षा बलको गस्तिमा रहेको टोलिले पक्राउ गरेको छ । यूएस सीमा सुरक्षा बलको रिपोर्टमा डिसेम्वर तीन देखि पाँच तारिक भित्र तीन हजार पाँच सय ४१ जना सँग मुठभेड भएको उल्लेख छ ।
ठूलो मात्रमा अवैध आप्रवासी पक्राउ पछि अधिकारीहरुले ‘डेल रियो सेक्टरमा अर्को व्यस्त सप्ताहन्त’ भनेका छन् । डेल रियो सेक्टरमा खटाइएको सीमा गस्ती एजेन्टहरूले विभिन्न ३९ देशका कागजातविहीन आप्रवासी पक्राउ गरेको रिपोर्टमा उल्लेख छ ।
ईगल पास स्टेसन सीमा गस्ती सुरक्षाकर्मीले बालकालिका सहितको परिवार र एकल व्यक्ति गरी तीन ठूला समूहहरूलाई गिरफ्तार गरेको जनाएको छ । यस्तै नर्मन्डी नजिकै एक सय १३ आप्रवासी पक्राउ परे । डिसेम्वर तीन तारिकमा सीमानामा समूहमा आएका निकारागुआका एक सय १० जना र होन्डुरसका तीन जना आप्रवासी थिए । सीमा गस्ती सुरक्षाकर्मीले त्यसपछि ईगल पास नजिकै एक सय चार कागजातविहीन आप्रवासीहरूलाई पक्राउ गरे। समूहमा तीनदेखि १३ वर्षसम्मका आठ आप्रवासी बालबालिका भएको जनाइएको छ ।
डिसेम्बर ४ मा एक सय ९८ आप्रवासीलाई ईगल पास नजिकै पक्राउ गरिएको थियो । उक्त समूहमा विभिन्न आठ देशका आप्रवासीहरू थिए । बाकी आप्रवासी कहाँ र कुन अवस्थामा पक्राउ परेको भन्ने रिपोर्टमा उल्लेख छैन ।
ठूलो मात्रमा आप्रवासी पक्राउ पछि डेल रियो सेक्टर सुरक्षा गस्ती प्रमुख जेसन डी ओवेन्सले सुरक्षाकर्मीको कामले आफुलाई गर्व लागेको बताएका छन् । “यस्ता अप्ठ्यारा परिस्थितिका बाबजुद पनि हाम्रा एजेन्टहरू कहिल्यै डगमगाउँदैनन् र सीमा सुरक्षा मिसनमा समर्पित रहन्छन्। यस राष्ट्रको रक्षा गर्न उनीहरूले हरेक दिन गर्ने महान कार्यमा मलाई साँच्चै गर्व छ।”
फोटो : यूएस सीमा र सुरक्षा बल